झापाः झापाको कमल गाउँपालिका–३ केर्खा बजारमा रहेको सुदिन ट्रेडर्स एण्ड सप्लायर्समा बिहीबार राति आगलागी भएको छ ।

पसलमा बिक्रीका लागि भण्डारण गरी राखेको पोलिथिन निर्मित ट्याङ्कीमा आगजनी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको बताइएको छ । आगलागीबाट १ हजार लिटर क्षमताका १५ वटा र ५ सय लिटर क्षमताका ३ वटा ट्याङ्की नष्ट भएको जनाइएको छ ।

यस्तै, १ दशमलव ५ इन्चको १ हजार फिट र १ इन्चको १ हजार फिट पाइपसमेत जलेर नष्ट हुँदा दुई लाख ५० हजार रुपैयाँभन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले जानकारी दिए ।

आगो कसले, किन र कसरी लगायो भन्ने विषयमा सुक्ष्म अनुसन्धान शुरु गरिएको सुब्बाले बताए । सुदिन ट्रेडर्समा बिक्रीका लागि राखिएका पोलिमर ट्याङ्कीमा आगजनी गरिए पनि नजिकैको पसलको साइनबोर्ड मात्र झिकेर करिब १ सय मिटर पर लगेर आगो लगाइएको पाइएको छ ।

घटनाको निन्दा गर्दै वाणिज्य सङ्घले व्यवसायी एवम् प्रहरी प्रशासनलाई आवश्यक कदम चाल्न ढिलो गर्न नहुने बताएको छ ।