इटहरीः घर निर्माणमा भएको वृद्धिसँगै अहिले ग्रीलको प्रयोग बढ्दै गएको छ । पछिल्लो समय फर्निचर र काठ अभाव भएर ग्रीलको प्रयोग बढे पनि कामदारको अभावले भने ग्रील व्यवसायीहरू चिन्तित बन्ने गरेका छन् ।
ठूला घर, अपार्टमेण्ट र व्यावसायिक भवनको निर्माणले तीव्रता पाए पनि दक्ष कामदारको अभावले पूर्ण रूपमा बजारलाई धान्न भने अप्ठ्यारो भएको व्यवसायी बताउँछन् ।
घरका झ्याल, ढोका, सटर र कम्पाउण्डमा लगाइने बार, स्टील रेलिङ, च्यानल गेट, रेडिमेड बुट्टालगायत सामान ग्रील उद्योगबाट तयार गरिन्छ । तर कतिपय विभिन्न कलात्मक बुट्टा हान्ने लगायतका दक्ष कामदारको अभावमा अप्ठ्यारो परेको ग्रील तथा स्टील व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष बज्रसुरज आङ्देम्बे बताउँछन् ।
‘अहिले सामान्य कामदार नै पाउन मुस्किल छ । त्यसमाथि दक्ष कामदारलाई त खोजीखोजी ल्याउनुपर्ने अवस्था छ’, न्यु गोर्खा मेटलका सञ्चालक आङ्देम्बेले भने, ‘कामदारको न्यूनतम ज्याला १० हजारदेखि ५० हजार रुपैयाँसम्म छ । यति भएर पनि नेपालमै कामदारको अभाव हुनु दुःखद हो ।’
ग्रील तथा स्टील व्यवसायमा देखिएको दक्ष जनशक्ति अभाव कम गर्न सीटीईभीटी लगायत स्थानीय सरकारहरूले सहकार्य गरी दक्ष जनशक्ति उत्पादनको लागि काम गर्नुपर्नेमा जोड दिनुपर्ने देखिएको उनको भनाइ छ ।
सुनसरीमा साना–ठूला गरेर ५ सय भन्दा बढी ग्रील तथा स्टीलजन्य उद्योगहरू रहेको उनी बताउँछन् । यी उद्योगमा करिब २ हजारभन्दा बढीले रोजगारी पाएका छन् ।

दर्ता नहुने पनि उत्तिकै
सुनसरीको इटहरीमा मात्र १ सय ३० वटा भन्दा बढी ग्रील तथा स्टील व्यवसायहरू रहेका छन् । तर ९० ओटा व्यवसायहरू मात्र दर्ता भएका छन् । अन्य व्यवसायीलाई पनि कानुनी दायरामा ल्याउन आवश्यक देख्छन् आङ्देम्बे ।
स्थानीय सरकारले समेत ध्यान दिएर व्यवसायीहरूलाई कानुनको दायरामा ल्याउने काम गरेको देखिँदैन । इटहरी उपमहानगरपालिकामा ग्रील उद्योग दर्ता र नवीकरण गर्न स्थानीय तहले चासो नदेखाएको भनी व्यावसायिक संस्थाहरूले पटकपटक ध्यानाकर्षण गराए पनि स्थानीय तहहरूले ध्यान दिन नसकेको व्यवासायीको आरोप छ ।

बैकको ब्याजमा भएको वृद्धिले थप समस्या
बैकबाट लिएको ऋणको ब्याजमा भएको निरन्तरको वृद्धिले अहिले ग्रील व्यवसाय गर्ने अधिकांश व्यवसायीहरू थप समस्यामा परेको व्यवसायी बताउँछन् । व्यवसायी जिम्मेवार भई वातावरणमैत्री तरिकाले उद्योग सञ्चालन गर्नुपर्ने उनी बताउँछन् ।
बैंक तथा वित्तीय संस्थाहरूले सहज किसिमले ऋण उपलब्ध नगराउने गरेको र ब्याजदर वृद्धि गर्दा उद्योगीहरूलाई ठूलो असर परेकाले सरकारले आवश्यक पहल गर्नुपर्ने उनले बताए ।

देशभर ११ हजार ग्रील तथा स्टील उद्योगहरू रहेको उनले जानकारी दिए । ग्रील तथा स्टील व्यवसायी महासङ्घका अनुसार वार्षिक ४० अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरी ग्रीलजन्य सामानहरूको आयातलाई प्रतिस्थापन गर्न सफल यो व्यवसायले १ लाख ६० हजार बेरोजगार युवाहरूलाई रोजगारी दिएको छ ।