इटहरीः ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्सलाई एक्वायर गर्ने भएको छ । दुवै कम्पनीले बिहीबार सहमति पत्रमा हस्ताक्षर गरी मर्जर प्रक्रिया अघि बढाएका छन् ।
हाथवे राष्ट्रियस्तरको फाइनान्स कम्पनी हो । यसले राष्ट्र बैंकले तोकेको न्यूनतम ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन सकेको थिएन । हाल यसको चुक्ता पूँजी ३० करोड रुपैयाँ मात्र छ । ग्लोबल आइएमईको भने चुक्ता पूँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ छ ।
समस्याग्रस्त अरुण फाइनान्सलाई सुधारेर हाथवे समूहले नयाँ नाम दिएको फाइनान्स धेरै मर्जरमा गएको बलियो वाणिज्य बैंकमा विलय हुन लागेको हो ।
सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका सञ्चालक तथा मर्जर समिति संयोजक सुदर्शनकृष्ण श्रेष्ठ र हाथवे फाइनान्सका सञ्चालक एवं मर्जर समितिका संयोजक नवराज नेपालले विलयसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको बताइएको छ ।
शेयर आदान प्रदान अनुपातका सम्बन्धमा डीडीए प्रतिवेदन अनुसार अघि बढ्ने सम्झौता भएको पनि बताइएको छ ।