भोजपुरः पिखुवा खोलाबाट निकाल्न लागिएको ५ मेगावाट क्षमताको विद्युत गृह इस्टर्न हाइड्रोपावरले जिल्लावासीका लागि संस्थापक शेयर खुला गरेको छ ।

बिजुली उत्पादनको अन्तिम तयारीमा पुगेको कम्पनीले आयोजन प्रभावित क्षेत्र र जिल्लाभरका सर्वसाधारणका लागि शेयर खुला गरेको हो । आयोजना प्रभावित क्षेत्र भोजपुर नगरपालिका वडा नं ५, ६, ७ र ९ का बासिन्दाका लागि प्रति कित्ता १ सय रुपैयाँ र ती वडावाहेकका जिल्लाभित्र बसोबास गर्ने अन्य सर्वसाधारणका लागि प्रतिकित्ता १ सय ५० रुपैयाँ शेयरको मूल्य तोकिएको छ ।
आयोजनाका जनसम्पर्क अधिकृत दिपेन राईले बताए । ६ करोड २० लाख बराबरको हिस्सामा शेयरको बाँडफाँड हुने राईले जानकारी दिए ।

शेयर लिन चाहनेले प्रभु बैंक भोजपुर शाखाबाट चैत ३ गतेदेखि १५ दिनभित्र कम्तीमा ५० कित्तादेखि १० हजार कित्तासम्म खरिद गर्न सक्ने पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।

कुल १ अर्ब १५ करोड लागत रहेको सो आयोजनाको विद्युतगृहदेखि भोजपुर नगरपालिकाको वडा नं ७ र ९ को सिमानामा पर्ने पानीट्याङ्कीसम्म ट्रान्समिटर र ट्रान्सफर्मर राख्ने, पोल गाड्ने, स्वीच राख्ने, तार टाँग्ने लगायतका काम भइरहेको इञ्जिनियर रोशन साहले जानकारी दिए । आउँदो एकहप्ताभित्रै चीनको प्राविधिक टोलीले टरबाईन टेस्ट गरेपछि चैत महिनाभित्रबाट विद्युत प्रशारण शुरु गरिने बताइएको छ ।

बिजुली बाल्न शुरु भएको ३५ वर्षपछि उक्त आयोजना नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्ने सम्झौता रहेको बताइएको छ ।

Eastern Hydro bhojpur