इटहरीः नेपाल जलस्रोतमा विश्वकै दोस्रो भनी देश भए पनि जलविद्युतका शेयरमा भने सर्वसाधारणको पहुँच कम छ । बहुराष्ट्रिय कम्पनी, सरकारी तथा विदेशी कम्पनीका स्वामित्वमा छन् अधिकांश जलविद्युत परियोजनाहरू । तर, अब भने जनतालाई शेयर दिएर नेपाल सरकारले जलविद्युत बनाउने भएको छ ।
गत फागुन २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको जलविद्युत आयोजना’को औपचारिक उद्घाटन गरेका हुन् । कसरी जलविद्युतका शेयरमा जनतालाई लाने भन्ने बारेमा फागुन २७ गते एक कार्यविधि समेत बनेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली जलविद्युतको शेयरधनी’ नामक नारासहित ल्याएको यो कार्यक्रममा विभिन्न १९ वटा जलविद्युत परियोजना छन् ।
जहाँ जनताले शेयर हाल्न सक्छन् । जनता र सरकारको साझेदारीमा बन्ने यी १९ परियोजनाको कुल लागत ६ खर्ब हुने बताइएको छ । स्वदेशी लगानीमै ३ हजार मेगावाटका जलविद्यतु उत्पादनको लक्ष्य भेटाउन यस्तो प्याकेज ल्याएको सरकारले बताएको छ ।
जनताको जलविद्युत आयोजनाको पहिलो शेयर चैत ७ गते खुल्दै
३ हजार ७ सय ७९ मेगावाट क्षमताका विभिन्न जलविद्युत निर्माण गर्ने लक्ष्य लिइएकोमा पहिलो आयोजनाको शेयर निस्कासनको तयारी भएको आयोजना प्रमुख आनन्द ढुङ्गेलले मिडियालाई बताएका छन् ।
यही चैत ७ गतेबाट त्रिशुली थ्री बी आयोजनाको शेयर निस्काशन हुने भएको छ । ३७ मेगावटको यो आयोजना नुवाकोट र रसुवामा फैलिएको छ । २०७८ फागुनभित्र सम्पन्न हुने भनिएको यो आयोजनाको कुल लागत ८ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ रहेको छ । सरकारको ५१ प्रतिशत र जनताको ४९ प्रतिशत सेयर स्वामित्व हुने यो आयोजनाको लागि पहिलो चरणमा हाल १० प्रतिशत रकममा शेयर जनतालाइ निस्काशन गरिने भएको हो ।
जनताको जलविद्युतमा सहभागी हुने प्रदेश १ का ६ परियोजना
विभिन्न १९ वटा जलविद्युतमा जनताको जलविद्युत आयोजनामा प्रदेश १ बाट मात्रै ६ परियोजना परेका छन् । यी ६ परियोजनामा ४ वटा सङ्खुवासभा र २ वटा ताप्लेजुङका विद्युत आयोजना रहेका छन । यी सबै आयोजनाको एकमुष्ट बिजुली १ हजार ७ सय ५१ मेगावाट हुन्छ । जुन कुल उत्पादन लक्ष्यको आधा भन्दा केही कम मात्रै हो ।
सबैभन्दा धेरै क्षमताको ७ सय २५ मेगावाटको माथिल्लो अरुणसहित अन्य ५ आयोजना प्रदेश १ मा छन । ४ सय ८२ मेगावाटको अरुण किमाथांका, ३ सय ७२ मेगावाटको अरुण चौथो प्रदेश १ का जनताको जलविद्यतुमा परेका देशकै ठूला आयोजनाहरु हुन् ।
यस्तै, ३० मेगावटाको सङ्खुवासभाको इखुवा आयोजना, ७० मेगावाटको ताप्लेजुङको सिम्बुवा खोला आयोजना र ७२ मेगावाटको ताप्लेजुङको घुन्साखोला जलविद्युत आयोजना जनताको जलविद्युत आयोजनामा परेका छन् ।