ताप्लेजुङः पछिल्ला वर्षहरूमा क्रमशः चिराइतोको बजार र मूल्य घट्दै गएकाले पूर्वी पहाडी क्षेत्रका चिराईतो किसान र व्यवसायी समस्यामा परेका छन् । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका किसान रामबहादुर गुरुङले गएको मङ्सिरमा जम्मा गरेको चिराईतो अहिलेसम्म घरमा नै थुपारेर राखेका छन् ।
गत वर्ष मुस्किलले मङ्सिर पुसमा नै बेचेर घर खर्च टारेका उनलाई यो वर्ष अहिले सम्म बिक्री नहुँदा परिश्रम खेर जाने चिन्ता छ । उनले भने–‘पोहोर साल भेला गरेको चिराईतो बल्लतल्ल बेचेको थिए, यसपालि अहिले सम्म कोही किन्न आएका छैनन्, बिक्री भएन भने दुखै मात्र हुने भयो ।’
यता त्यही ठाउँका अर्का किसान बजिन्द्र बयलकोटीले यो वर्ष घर नजिकैको पाखामा पाइने चिराईतो उखेल्ने जाँगर नै गरेनन् । ‘पोहोर मङ्सिर–पुसमा उखेलेर थुपारेको चिराईतो ६ महिना सम्म राख्नु प¥यो’, भने ‘जस्तो भाउ पनि आएन, यो वर्ष दुखै गरिएन’
यो वर्ष यहाँका अधिकांश किसानले भेला गरेको चिराईतो अहिले सम्म बिक्री हुन सकेको छैन भने संधैका वर्षमा जम्मा गर्ने कतिपयले यो वर्ष वास्तै गरेनन् ।
भने जस्तो भाउ नहुँदा र माग समेत घटेकाले चिराइतोको कारोबार ठप्प जस्तै बनेको छ । ‘अहिले तिब्बत तर्फ चिसोका कारण लैजान सकिँदैन, बिर्तामोडका व्यापारीबाट ठुलो माग पनि आएको छैन, प्राय चिराइतोको कारोबार ठप्प जस्तै बनेको छ’–स्थानीय व्यापारी सविन बानियाले भने ।
बानियाका अनुसार पूर्वी पहाडी जिल्लाहरूमा उत्पादन हुने चिराई तो तिब्बत र भारत तर्फ निकासी हुने गरेको छ । केही मात्रामा बङ्गलादेश पनि जान्छ । तर अहिले भारत, बङ्गलादेश दुवै ठाउँबाट ठुलो माग आउनै छाडेको बानियाले बताए ।
चिनेको तिब्बतमा लैजाने गरिए पनि चिसोको सिजनमा भने लैजान नसकिने उनको भनाई छ । किसानबाट ठुलो मात्रामा चिराई तो जम्मा गरे पनि अहिले सम्म बिक्री नहुँदा आफूहरू पनि समस्यामा परेको बानियाले बताए ।
बजार र मूल्य दुवै नहुँदा किसान र व्यापारी दुवै मारमा परेका छन् । सानोतिनो फाइदाका लागि किसानबाट सङ्कलित चिराई तो गोदाम मै थन्किएको छ भने कतिपय किसानले घरैमा राखेका छन् । ‘पहाडी क्षेत्रमा मुख्य आमदानीको श्रोत मानिएको अलैँचीले मूल्य नपाउँदा निराश बनेका किसानलाई चिराइतोको समेत बजार र मूल्य नहुँदा समस्या भएको छ ।’ ‘आजकल भने जस्तो अलैँचीको मूल्य नहुँदा र चिराई तो समेत नकिक्दा मारमा परियो’–सिदिङ्वा गाउँपालिकाका किसान बलबहादुर तामाङले भने ।
अलैँचीको मूल्य क्रमशः ओरालो लाग्दै गए पछि चिराईतोलाई विकल्पको रूपमा हेरेका किसान दुवै उत्पादनले मूल्य नपाउँदा थप समस्यामा परेका हुन् । चार वर्ष अघि चिराई तो प्रतिमन ३० हजारले कारोबार भए पनि क्रमशः घट्दै गएर हाल बिर्तामोडमा ८ हजारले कारोबार हुने गरेको व्यापारीले बताएका छन् ।