भोजपुरः भोजपुरको उत्तरी दिङ्लामा विद्युत विस्तार परियोजनामा अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्षसहित नगरपालिकाका तत्कालीन कर्मचारी, प्राविधिक र उपभोक्ता समितिका पदाधिकारी गरी १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा षडानन्द नगरपालिका साविक वडा नं. ५ र ६ मा विद्युत विस्तार आयोजनामा १७ प्रतिशत मात्र काम सम्पन्न भएको अवस्थामा पुरै काम सम्पन्न भएको भनी झुटो प्रतिवेदन र कागजात बनाई निकासा गराएकाले उनीहरूमाथि बिगो दाबीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा जनाइएको छ ।

मुद्दा दायर गरिएकामा षडानन्द नगरपालिका वडा नं. ८ का वडाध्यक्ष तथा अनुगमन समितिका सदस्य किशोर किरात, षडानन्द नगरपालिकाका तत्कालीन निमित्त प्रशासकीय प्रमुख जयनारायण खनाल, तत्कालीन लेखा अधिकृत सन्तोष श्रेष्ठ, इन्जिनियर विमलमान राई र असिष्टेण्ट सब इन्जिनियर महेश कार्की रहेका छन् ।

त्यस्तै, शिक्षा अधिकृत विद्यालय निरीक्षक मणिराम तामाङ, विद्युत विस्तार योजना उपभोक्ता समितिका अध्यक्ष फुर्वा तामाङ, सचिव राजेन्द्र राई, कोषाध्याक्ष ज्ञानुमाया तामाङ (श्रेष्ठ) र संयोजक हेमकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर भएको छ । उनीहरूमध्ये शिक्षा अधिकृत तामाङलाई १८ लाख ६८ हजार रुपैयाँ र अन्यलाई जनही २८ लाख ९५ हजार ५ सय ८ रुपैयाँ ८६ पैसा बिगो तोकेर मुद्दा दायर भएको हो ।

योजनाको ५८ लाख ७० हजार कुल लागतमध्ये २९ लाख ७४ हजार ४ सय ९१ रुपैयाँ १४ पैसाको मात्र काम गरेर नक्कली बिल भरपाई बनाई रकम निकासा भएको थियो । काम गरेको भन्दा बढी २८ लाख ९५ हजार ५ सय ८ रुपैयाँ ८६ पैसा निकासा गरेकाले आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।