सोलुखुम्बुः सामुदायिक अस्पताल निर्माणका लागि आयोजित श्रीमद्भागवत् ज्ञान महायज्ञमा रु १० करोड ७७ लाखभन्दा बढी रकम सङ्कलन भएको छ ।
विकट गाउँ मुक्लिमा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने उद्देश्यले आयोजित महायज्ञमा १० करोड ७७ लाख ४२ हजार ६ सय ५८ रुपैयाँ सङ्कलन भएको हो । महायज्ञमा कतिपय दाताले नगद तथा चेक प्रदान गरेका गरेका थिए भने धेरैले तोकिएबमोजिमको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।
थुलुङ दूधकोशी गाउँपालिकाको केन्द्र मुक्लिमा दूधकोशी सामुदायिक अस्पताल निर्माणका लागि चैत २ देखि ९ गतेसम्म सञ्चालित महायज्ञमा रु ९३ लाख खर्च भएको गाउँपालिका अध्यक्ष असिम राईले जनाए ।
महायज्ञबाट रु २० करोड सङ्कलन गर्ने गाउँपालिकाको लक्ष्य ५० प्रतिशत पूरा भए पनि सहयोग सङ्कलन अभियान निरन्तर रहने जनाइएको छ । भ्याण्टिलेटरसहितको अस्पताल निर्माणका लागि महाअभियान थालिएको भन्दै यहाँका सम्पूर्ण जातजातिले उत्साहजनक सहभागिता जनाएको महायज्ञ मूल आयोजक समितिका कोषाअध्यक्ष बलराम गुरुङले बताए ।