इटहरीः धनकुटामा प्रधान कार्यालय भएको काबेली विकास बैंक र विराटनगरमा प्रधान कार्यालय भएको सप्तकोशी डेभलपमेन्ट बैंकले विशेष साधारण सभा बोलाएका छन् ।
यी दुवै संस्थाले आपसमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्ने उद्देश्यले चैत २७ गते विशेष साधारण सभा बोलाएका हुन् । काबेलीको सभा होटल चिप एन्ड बेष्टको सभाहल धनकुटामा र सप्तकोशीको उद्योग सङ्गठन मोरङमा सभा बस्ने भएको छ ।
सो सभाबाट मर्जरको लागि सेयर स्वाप रेसियोमा छलफल गरी पारित गरिने भएको छ । यस्तै, यसअघि एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा भएका समझदारी, सम्झौता तथा निर्णयहरु अनुमोदन तथा अन्तिम स्वीकृति गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष एजेन्डा रहेको बताइएको छ । मर्जरमा जाने निर्णय गर्नुअघि काबेलीले जारी गर्ने भनेको हकप्रद सेयर निर्णयलाई पनि खारेज गर्ने भएको छ ।
काबेलीले हालै ३५ प्रतिशत बोनस शेयर दिएर चुक्ता पूँजी २८ करोड ४२ लाख ९७ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, सप्तकोशीले ३ प्रतिशत बोनस दिएर चुक्ता पूँजी ५२ करोड ३७ लाख ६५ हजार रुपैयाँ पुर्याएको छ ।