इटहरीः प्रदेश १ ट्राफिक प्रहरी कार्यलय इटहरीले ट्राफिक नियम उल्लङ्घन गर्नेले अब बैंकमार्फत् जरिवाना तिर्नुपर्ने बताएको छ ।
सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी १५ दिने महाअभियानअन्तर्गत आयोजना गरिएको कार्यक्रममा ट्राफिक प्रहरीले यस्तो बताएको हो ।

बाटोमै चिट काट्दा (जरिवाना तिर्दा) नियम उल्लङ्घन गर्नेलाई सहज भएको भन्दै प्रहरीले झन्झटिलो प्रक्रिया अपनाउन लागेको बताइएको छ । प्रदेश ट्राफिक प्रहरी प्रमुख रवि पौडेलका अनुसार दुर्घटना र ट्राफिक नियम उल्लङ्घनका घटना कम गराउन यो नियम ल्याइन लागेको हो ।

उक्त अभियानमा हर्न निषेध गर्ने, ट्याक्टरमा यात्रु ओसारपसार गर्न निषेध गर्ने कामलाई पूर्ण रूपमा कार्यान्वयन गरिएको ट्राफिक प्रहरी प्रमुख पौडेलले बताए ।

सोही अभियानमा चालकलाई अनिवार्य जुत्ता प्रयोग गर्न लगाउनेदेखि ट्रिपर सञ्चालनमा ‘टाइम कार्ड’ लागू गरिएको पनि उनले बताए । विज्ञापनका होडिङ बोर्ड हटाउने कामलाई तदारुकताका साथ कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिए । अघिल्लो वर्षभन्दा यस वर्ष दुर्घटनामा कमी आउनुको साथै ट्राफिक सचेतनामा वृद्धि भएको उनले सुनाए ।