इटहरीः यही चैत ७ गतेदेखि चैत ११ गतेसम्म खुलेको माथिल्लो त्रिशुली बी जलविद्युत आयोजनामा पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले शेयरका लागि आवेदन गरेका थिए ।
जनताको जलविद्युत कार्यक्रमअन्तर्गत खुल्ने कम्पनीको पहिलो शेयर आफूले खरीद गर्ने भनी गत फागुनमा प्रधानमन्त्रीले घोषणा गरेका थिए । सोही घोषणाअनुसार शेयर लगानी गर्न चाहिने आवश्यक पर्ने हितग्राही (डिम्याट) खाता खोलेर र सिआरएन नम्बर लिएर उनले पहिलो पटक शेयर खरीदका लागि आवेदन दिएका थिए ।
यो शेयरमा हाल १० प्रतिशत अर्थात् १० रुपैयाँ रकम बुझाउँदा हुन्थ्यो । बाँकी ९० प्रतिशत रकम आयोजनाको काम ७५ प्रतिशत पूरा भएपछि बुझाउनुपर्ने हुन्छ । सर्वसाधारणको लागि खुलेको ३५ लाख ३४ हजार ३ सय ४० कित्ता शेयरमध्ये अधिकतम १० हजार कित्तासम्म शेयर खरीद गर्न पाउने प्रावधानअनुसार ओलीले अधिकतम कित्ताका लागि आवेदन दिएका थिए ।
ओलीले १० हजार कित्ता माग्दा २० कित्ता पाए
सोही शेयर आज बाँडफाँड हुँदा प्रधानमन्त्रीले २० कित्ता शेयर पाएका छन् । शेयर बजारमा जोखिमरहित तरिकाले छिर्ने ढोका भनेकै प्राथमिक शेयरमा लगानी हो र त्यसको सुरुवात प्रधानमन्त्रीले अभियानकै रूपमा गरेका छन् । जसअन्तर्गत उनले पहिलो पटक शेयरमा आवेदन गरेका थिए । प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यलाई पनि २० कित्ता नै आइपिओ परेको छ ।
त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले १ हजार कित्ता माग गर्दा उनले पनि २० कित्ता मात्रै पाएका छन् भने मन्त्री वर्षमान पुनकी धर्मपत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीलाई पनि २० कित्ता नै शेयर परेको छ । घर्तीले २ हजार कित्ताका लागि आवेदन दिएकी थिइन् । ऊर्जा सचिवलाई पनि २० कित्ता नै शेयर परेको छ ।
सो कम्पनीको शेयरको लागि १ लाख ४४ हजार ५ सय ५९ जनाले न्यूनतम १ सय कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन गरेका थिए ।
धितोपत्र बाँडफाँड नियमावलीअनुसार रीतपूर्वक आवेदन गर्ने सबैलाई पुगेसम्म दामासाहीले शेयर बाँडफाँड गर्नुपर्ने भएकाले आवेदन दिने सबैले अनिवार्य २० कित्ता शेयर प्राप्त गरेका हुन् ।
यसरी बाँडफाँड गर्दा बाँकी रहेको शेयर गोलाप्रथाद्वारा ५० हजार २ सय ६७ जनालाई थप १० कित्ताका दरले दिइएको थियो । गोलाप्रथामा पर्ने आवेदकले १ सय कित्ताका लागि आवेदन गरे पनि ३० कित्ता शेयर पाए भने गोलाप्रथामा नपर्ने १ लाख ४ हजार २ सय ९२ जना आवेदकले २० कित्ता शेयर प्राप्त गरेका छन् ।
बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार ६७ वटा आवेदन रद्द भएका थिए ।