इटहरीः आज र भोलि सङ्घीय राजधानी काठमाडौंमा लगानी सम्मेलन आयोजना हुँदैछ । विश्वभरका लगानीकर्ताको जमघटमा परियोजनाको प्रस्तावसहित लगानीकर्ता खोजी गर्ने सम्मेलनको आयोजक नेपाल सरकार आफैँ हो । सरकारले लगानी बोर्डमार्फत् विभिन्न ७ क्षेत्रमा लगानीका विभिन्न परियोजना प्रस्ताव गरेको छ ।

कृषि, शिक्षा, ऊर्जा, उद्योग, पर्यटन, यातायात र शहरी पूर्वाधारका क्षेत्रमा ३५ खर्बमा ७७ परियोजना सरकारले छानेको छ । यसरी छानिएका परियोजनामा प्रदेश १ बाट विभिन्न ५ वटा परियोजना परेका छन ।

२ वटा विद्युतीय, एउटा पर्यटकीय, एउटा कृषि र एउटा विमानस्थलको परियोजनालाई सरकारले प्रदेश १ बाट छनोट गरेको छ । रोचक कुरा यो छ कि प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडाको जिल्ला झापाबाट भने कुनै पनि परियोजना लगानी सम्मेनमा प्रस्ताव गरिएको छैन ।

यी हुन् ३५ खर्ब लगानी ल्याउने उद्देश्यका साथ गरिएको लगानी सम्मेलनमा समेटिएका प्रदेश १ का ५ वटा परियोजनाः

१. तालतलैया थिम पार्क विथ होटलः ४१ मिलियन अमेरिकी डलर
. एकीकृत कृषि पूर्वाधार परियोजना उर्लाबारी, मोरङः ५.४५ मिलियन अमेरिकी डलर
. ६ सय ७९ मेगावाटको तल्लो अरुण विद्युत परियोजना, सङ्खुवासभा तथा भोजपुरः १ हजार ३ सय मिलियन अमेरिकी डलर
. ७ सय २६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत परियोजना, तेह्रथुम र पाँचथरः १ हजार २ सय १७.४ मिलियन              अमेरिकी डलर
५. ४ सय ३०.२४ बिघाको विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः ३ सय ७३ मिलियन अमेरिकी डलर