इटहरीः इटहरी उपमहानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान अयोगलाई नै बेवास्ता गर्ने गरेको छ । सार्वजनिक जग्गा मिचेर बनाइएका विद्यालयको विषयमा जानकारी लिनको लागि अख्तियारले पठाएको पत्रको जवाफ उपमहानगरले अझै उपलब्ध गराएको छैन ।

उपमहानगरपालिकालाई पठाइएको पत्रमा आवश्यक विवरणसहित राय पठाउन भनिएको थियो । अख्तियारमा परेको उजुरीका आधारमा छानबिन गर्नुपर्ने देखिएको पत्रमा उल्लेख गरिएको छ । ०७५ फागुन ६ गते काटिएको पत्रमा आवश्क विवरणसहित राय प्रतिक्रिया माग गरिएको छ ।

पत्र प्राप्त भएको मितिले ७ दिनभित्र जवाफ पठाइसक्नु भनिए पनि अझैसम्म उपमहानगरले जवाफ पठाउन सकेको छैन । ०७५ फगुन ६ गते काटेको पत्र १३ गते मात्र प्राप्त भएकाले ढिलो भएको उपमहानगरका वरिष्ठ इञ्जिनियर अर्जुन दाहालले बताउँदै आएका थिए ।

तर फागुन १३ गते पत्र प्राप्त भए पनि १ महिना बितिसक्दा समेत त्यसको जवाफ अख्तियारमा पुग्न सकेको छैन । दाहालका अनुसार केही प्राविधिक समस्या भएका कारण ढिलो भएको हुन सक्छ । त्यसको बारेमा इञ्जिनियर विकास भट्टराईलाई सोध्न उनले आग्रह गरे । यसअघि उनले फागुन २६ गते आइतबार सम्ममा पत्रको जवाफ पठाइसक्ने बताएका थिए ।

उता भट्टराईले भने प्रमाण जुटाउने काम भइरहेकाले ढिला भएको बताए । केही कागजात फेला पार्न बाँकी रहेकाले ढिला भएको उनको भनाइ छ । ‘अमिन साथीहरूले त्यस विषयम स्केच तयार पार्ने काम गरिरहनुभएको छ,’ उनले भने, ‘अब चाँडै नै अख्तियारले भनेअनुसार पत्रको जवाफ पठाउँछौँ ।’

स्केचसहित जवफ पठाऊः अख्तियार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय इटहरीले उपमहानगरलाई सार्वजनिक जग्गा मिच्ने बोर्डिङ स्कुलको स्केचसहित पत्र पठाउन भनेको छ । ०७५ माघ १५ मा ७०१ दर्ता नम्बरमा दर्ता भएको उजुरीको आधारमा पत्र काटेको बताइएको छ ।
जसमा इटहरी–४ मा पर्ने खेतीखोला अतिक्रमण गरेर बनाइएको हाम्रो बोर्डिङ स्कुल र इटहरी–८ मा टेङ्ग्रा खोला मिचेर बनेको नमुना कलेजको जग्गाको विषयमा स्पष्ट प्रमाण माग गरिएको छ । अख्तियारले सत्यतथ्य प्रमाणसहित आवश्यक कागजात र राय उपलब्ध गराइदिन भन्दै उपमहानगरपालिकालाई पत्र काटेको छ ।

उपमहानगरले प्राविधिक टोली खटाएर सत्यतथ्य सहितको छानबिन प्रतिवेदन र साथमा संरचनाको हालको स्केच पेश गर्न पत्रको दोस्रो बुँदामा भनिएको छ । त्यस्तै उक्त जग्गा कसको स्वामित्वमा रहेको र उक्त संरचनाको नक्सापास भएको छ छैन भनी अख्तियारले प्रश्न गरेको छ ।
शाखा अधिकृत विष्णुकुमार थेगुवाले काटेको पत्रमा उपमहानगरसमक्ष सम्पूर्ण प्रमाण माग गरिएको छ ।

akhtiyar patra copy