इटहरीः सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि आवश्यक लगानी जुटेको छ । हिजो काठमाडौंमा सम्पन्न लगानी सम्मेलनमा स्टेट बैंक अफ इण्डिया, एभरेष्ट बैंक र नबिल बैंकले संयुक्त रूपमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएलगत्तै आयोजनाले गति लिने विश्वास गरिएको छ । सो आयोजनामा स्टेट बैंक इण्डियाले रु ६ हजार ५ सय ६० करोड, एभरेष्ट बैंकले रु ८ सय १२ दशमलव ६१ करोड र नबिल बैंकले रु ४ सय ८७ दशमलव ५८ करोड लगानी गर्ने भएका छन् ।

लगानी सम्मेलनमा भएको यो नै ठूलो लगानीसम्बन्धी सम्झौता हो । सम्झौतामा सतलज विद्युत् निमगका अध्यक्ष शतिशकुमार शर्मा र स्टेट बैंक अफ इण्डियाका असिस्टेन्ट जनरल म्यानेजर सरोती विनोद कुमार, एभरेष्ट बैंकका डिजिएम गिरिश कोहली र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले हस्ताक्षर गरेका छन् ।

९ सय मेगावाट क्षमताको सो आयोजनाको १५ प्रतिशत भौतिक निर्माण पूरा भएको छ । आयोजनाको लागत रु १ खर्ब १४ अर्ब बराबर रहेको छ । लगानी बोर्ड र आयोजनाको प्रवद्र्धक सतलज विद्युत् निगमबीच सन् २०१४ मा नै परियोजना विकास सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा प्रवद्र्धक कम्पनीले सङ्खुवासभामा आयोजना निर्माण गरिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा गत वैशाखमा सो आयोजनाको शिलान्यास गरेका थिए । जलप्रवाहमा आधारित सो आयोजना सार्वजनिक–निजी साझेदारीअन्तर्गत निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा अगाडि बढाइको हो ।

सञ्चालनमा आएको २५ वर्षपछि पूर्ण सञ्चालित अवस्थामा नै निर्माणकर्ता कम्पनीले आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । आयोजनाबाट नेपालले १ सय ९७ मेगावाट विद्युत् निःशुल्क पाउनेछ । बाँकी बिजुली कम्पनीले भारत निर्यात गर्नेछ । आयोजनाबाट नेपालले जम्मा १ खर्ब ६ अर्बभन्दा बढी रोयल्टी पाउने र रु ७७ अर्ब बढी राजस्व पाउने बोर्डको आँकलन छ ।

बोर्डको तथ्याङ्कअनुसार आयोजनाबाट नेपाललाई ३ खर्ब ३८ अर्बभन्दा बढी रुपैयाँ वार्षिक आर्थिक लाभ हुनेछ । विश्वव्यापी खुला प्रतिस्पर्धाबाट सतलजले यो आयोजना निर्माणको जिम्मा पाएको हो । वित्तीय स्रोत जुटाएको ५ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको बताइएको छ ।