सङ्खुवासभा: वर्षासँगै परेको असिनाले सङ्खुवासभाका विभिन्न क्षेत्रको बालीनाली नोक्सान भएको छ । सोमबार दिउँसोदेखि रातिसम्म परेको असिनाले हिउँदे बालीसँगै फलफूल र अलैंचीमा क्षति गरेको हो ।
असिनाले जिल्लाको मकालु गाउँपालिका, खाँदबारी नगरपालिकाको केही वडा, पाँचखपन नगरपालिका लगायतका विभिन्न स्थानमा क्षति पुर्याएको हो ।
असिनाले गहुँ, तोरी, तरकारीदेखि आँप, लिची, केरा र अलैंची सबै सखाप भएको मकालु गाउँपालिकाका वसन्त गुरुङले बताए ।
उनका अनुसार गहुँ र तोरीमा असिनाले चुटेर बोटमात्रै बाँकी रहेको छ । यसैगरी, हिउँदे तरकारी र अलैँचीमा पनि ठूलो क्षति पुर्याएको किसानहरूले बताएका छन् ।
यता, पाँचखपन नगरपालिकाको जलजला क्षेत्रमा पनि असिनाले ठूलो क्षति पुर्याएको छ । स्थानीय निमा ठिले शेर्पाका अनुसार सो क्षेत्रमा अलैँची लगायत नगदेबालीमा क्षति पुगेको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार अहिले प्राविधिकहरू फिल्डमा खटिएर क्षतिको लगत सङ्कलनको काम गरिरहेका छन् । उनले अहिले नै कति क्षति भयो भन्ने विषयमा भन्न नसकिने भए पनि गहुँ, तोरी, अलैँची र तरकारीमा धेरै क्षति भएको बताए ।
उता, पाँचखपन नगरपालिका वडा नं ९ मा चट्याङ लागेर २ जना घाइते भएका छन् ।