इटहरीः इटहरी साना सहरी खानेपानी सरसफाइ उपभाेक्ता संस्थाले ३ भ्रमणमा १० लाखभन्दा बढी रकम अवलोकन भ्रमणमा मात्र खर्च गरेको छ । ०७२ देखि ०७५ सम्मका ३ वटा अवलोकन भ्रमणमा उक्त रकम खर्च भएको हो ।
सर्वप्रथम ०७१÷७२ मा भएको सुर्खेतको झुप्रा बृहत खानेपानी र बाँकेको कोहलपुर खानेपानीको भ्रमण गरेको ३१ सदस्यीय टोलीमा २ लाख ५७ हजार ७ सय ३७ रुपैयाँ खर्च भएको थियो । ०७४÷७५ मा दाङको घोराही र तुलसीपुर खानेपानीको भ्रमण गर्न गएको ३७ सदस्यीय टोलीले अघिल्लो वर्षको झण्डै दोब्बर अर्थात् ४ लाख ३२ हजार ३ सय ४७ रुपैयाँ खर्च गर्याे । त्यस्तै ०७५÷७६ को लागि भर्खरै सम्पन्न भ्रमणमा ३ लाख ५० हजार बराबरको चेक भुक्तानी भएको र धेरै बिल भुक्तानी हुने प्रक्रियामा भएकाले खर्च अझै बढ्न सक्ने खानेपानी संस्था कार्यालयले जनाएको छ ।
पछिल्लो समयको पहिलो भ्रमण सिन्धुलीमा र परिषद सदस्यसहितको दोस्रो भ्रमण दमक र फिक्कल खानेपानी संस्थानको अवलोकन भ्रमण गराइएको हो । चुनावी माहोल आइरहेको बेला पिकनिक, भ्रमण लगायतका कार्यक्रमहरू तीव्रताका साथ भइरहेका छन् ।
बीचको एक वर्ष भने अवलोकन भ्रमण हुन सकेन । स्थानीय, प्रदेश र सङ्घको निर्वाचन हुने भएकाले ०७३÷७४ मा भने भ्रमण हुन नसकेको संस्थाका सचिव माधव कोइरालाले बताए ।
४ वर्षको लागि निर्वाचित भएको कार्यसमितिको कार्यकाल ०७५ असार मसान्तमा सकिँदैछ । एउटै कार्यसमितिको पालामा बारम्बार अवलोकन भ्रमण भइरहेका छन् ।
संस्थागत फाइदाको लागि भ्रमणः सचिव
खानेपानीले संस्थागत फाइदाको लागि हुने जुनसुकै गतिविधिलाई स्वीकार गर्नुपर्ने संस्थाका सचिव माधव कोइरालाले बताए । अन्य खानेपानी सस्थामा कसरी कामभइरहेको छ भन्नेबारे जानकारी दिन पनि भ्रमण फलदायी बन्ने गरेको उनको भनाइ छ । अरुले लगाउने शुल्क र हामीले लिएको शुल्कको बारेमा तुलना हुने र त्यसबाट पाठ सिक्न सकिने भएकाले भ्रमण प्रभावकारी बन्ने गरेको उनले दाबी गरे ।
‘हामीले अरुको भन्दा कम शुल्कमा पानी दिइरहेका छौँ । त्यसैले पनि हामी अरुभन्दा निकै अब्बल देखिएका छौँ,’ उनले भने, ‘तर पनि सुधारका धेरै पाटा बाँकी नै रहेकाले संस्था सुधारको पक्षमा लागिरहेको छ ।’
अन्य स्थानमा भन्दा इटहरी खानेपानी संस्थाकाे सेवा शुल्कदेखि मर्मत शुल्कसम्म कम भएको उनले बताए । अवलोकन भ्रमणपछि के सुधार भयो भन्ने प्रश्नमा भने उनी नाजवाफ रहे । ‘खास यही नै सुधार भयो भन्न सक्ने अवस्था त छैन तर पनि काम हुँदैछ’, उनले भने । के काम भइरहेको छ भन्ने अर्को प्रश्नमा उनले भने, ‘धेरै काम भइरहेको छ ।’