इटहरीः कोशी करिडोर २ सय २० केभी प्रशारण लाइन आयोजना निर्माणमा गर्दै आएको अवरोध हटेको छ । धरान उपमहानगरपालिकाले गत मंसिरबाट गर्दै आएको अवरोध हटेपछि विष्णुपादुका क्षेत्रमा प्रशारण लाइन निर्माणको काम सुचारु भएको छ ।
आयोजनाको प्रस्तावित रुटबाटै प्रशारण लाइन निर्माण गर्न उपमहानगरपालिका सहमत भएपछि काम शुरु गरिएको आयोजना प्रमुख राजन ढकालले जानकारी दिए । उनका अनुसार १७ वटा टावर निर्माणमा अवरोध थियो । पटकपटक भएको छलफलबाट वडाध्यक्ष लगायत प्रस्तावित रुटबाटै प्रशारण लाइन लैजान दिन तयार भएपछि निर्माण शुरु गरिएको उनले बताए ।
प्रशारण लाइन आयोजना निर्माणमा आएको समस्या समाधानका लागि १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले पहल गरेका थिए । उनले उपमहानगरपालिकाका प्रमुख, वडाध्यक्ष, त्यस क्षेत्रका सङ्घ तथा प्रदेशका सांसद लगायतसँग पटकपटक छलफल गरेका थिए ।
प्रस्तावित रुटबाट प्रशारण लाइनको निर्माण गरिएमा उपमहानगरपालिका–२० को विष्णुपादुका क्षेत्रका पर्यटकीय गन्तव्यमा नकारात्मक असर पर्ने धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले बताएकी थिइन् । करिब २ सय मिटर पश्चिमबाट प्रशारण लाइन लैजान नेपाल विद्युत प्राधिकरणलाई उनले लिखित रूपमै आग्रह गरेकी थिइन् । त्यसपछि आयोजनाको निर्माण रोकिएको थियो ।
उता, प्राधिकरणले भने उपमहानगरपालिकाले भनेजस्तो प्रशारण लाइनले असर नपर्ने बताएको थियो । प्रशारण लाइनको निर्माणमा ढिलाइ भएमा हाल निर्माणाधीन अवस्थामा रहेका जलविद्युत आयोजनाबाट उत्पादन हुने अनुमानित ५ सय ५० मेगावाट विद्युत खेर जाने अवस्था आउने प्राधिकरणको भनाइ थियो । यसबाट राष्ट्रलाई क्षति पुग्ने, प्रवद्र्वकहरुलाई क्षतिपूर्ति लगायतको अवस्था रहेको भन्दै रुट परिवर्तन गर्न प्राधिकरणले अस्वीकार गर्दै आएको थियो ।