बेलबारीः बेलबारी नगरपालिकाले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको ८ महिना आन्तरिक राजस्व लक्ष्य भन्दा बढी उठाएको नगरपालिकाले जनाएको छ ।
४ करोड ११ लाख ५० हजार रुपैयाँ लक्ष्य लिएको नगरपालिकाले आन्तरिक स्रोतबाट लक्ष्य भन्दा धेरै उठाएको हो । ४ करोड ३१ लाख ८४ हजार २४ रुपैयाँ आन्तरिक स्रोतबाट सङ्कलन गरिसकेको नगरपालिकाले जनाएको छ ।
सम्पत्ति कर, हाटबजार कर, व्यावसायिक कर, मालपोत तथा नक्सापास दस्तुरबापत उक्त रकम उठेको हो । ‘नक्सापासमा २० लाख लक्ष्य लिएका थियौँ’, नगरपालिकाका लेखा अधिकृत टेकनाथ रेग्मीले भने, ‘६८ लाख उठ्यो ।’ लेखा अधिकृत रेग्मीका अनुसार सम्पत्ति करमा ६० लाख लक्ष्य लिएकोमा ६८ लाख राजस्व सङ्कलन भएको छ । यो फागुन महिनासम्मको तथ्याङ्क हो ।
नगरपालिकाले विभिन्न शीर्षकमा ८० करोड २ लाख १४ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ८ महिनाको अवधिमा ४५ करोड ४६ लाख राजस्व सङ्कलन गरेको छ । जुन लक्ष्यको ५७ दशमलमव ८२ प्रतिशत हो ।
गत वर्षको तुलनामा बढी राजस्व सङ्कलन भएको नगरपालिकाले जनाएको छ । लक्ष्यअनुसारको राजस्व उठ्ने प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले बताए । उनले भने, ‘अघिल्ला वर्षको तुलना गर्ने हो भने यो उपलब्धिमूलक हो ।’
फागुन महिनासम्मको खर्चको फाँटबारीअनुसार नगरपालिकाले विकास निर्माणमा भने २६ दशमलव १८ प्रतिशत खर्च गरेको छ । पूँजीगततर्फ ३८ करोड १५ लाख ९२ हजार १ सय ९९ रुपैयाँ बजेट नगरसभाबाट छुट्याएको थियो ।
विकास निर्माण शीर्षकमा बाटो तथा पुल पुलेसाको रकम ८ महिना बितिसक्दा पनि २६ दशमलव १८ प्रतिशतमात्र खर्च भएको देखिएको हो । आर्थिक वर्ष ०७५÷०७६ लाई हेर्ने हो भने अघिल्ला वर्षभन्दा बढी कर सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए ।
करको दरभन्दा पनि दायरा बढाइएको र समृद्ध नगर बनाउने अभियानमा बेलबारी नगरपालिका रहेको मेयर ज्ञानेन्द्र सुवेदीको भनाइ छ ।