इटहरीः नक्कली बैंक ग्यारेण्टी पेश गरेर सडक आयोजनाको रकम हिनामिना गर्ने ७ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । भोजपुर–टक्सार–कोट–गगने–लेखर्क सडक स्तरोन्नति कार्यक्रमको ५५ करोड ९५ लाख ३० हजार बजेट दुरूपयोग भएको अख्तियारको निष्कर्ष छ ।
अख्तियारका अनुसार सडक स्तरोन्नति गर्न लगाइएको ठेक्कामा नक्कली बैंक ग्यारेन्टी पेश गरी ठेकेदारलाई भुक्तानी दिएको उजुरीपछि अख्तियारले थालेको छानबिनमा आरोप तथ्यसहित भेटिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
ठेकदार कम्पनी एमकेवाईपी जेभीको तर्फबाट २ पटक नक्कली बैंक ग्यारेण्टी पेश गरी जिल्ला प्राविधिक कार्यालयबाट मोबिलाईजेसन रकम निकासा भएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारको भनाइ छ । नक्कली बैंक ग्यारेण्टी बनाएर पेश गर्ने ठेकदार सहित, बैंक ग्यारेण्टी कागज बनाउने कृषि बिकास बैंकका अधिकृत, रकम निकासा गर्ने जिल्ला प्राविधिक कार्यालय भोजपुरका कार्यालय प्रमुख तथा लेखापाल विरूद्ध अख्तियारले हिजो भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
बैंक ग्यारेण्टीको वैधतासम्बन्धी पुष्टि नगरी निर्माण कम्पनीका प्रतिनिधि तथा सञ्चालकसँग मिलेमतो गरी सरकारी सम्पत्ति दुरुपयोग गरिएको पाइएको अख्तियारले जनाएको छ । उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८, ९, १७ र २३ बमोजिमको सजाय मागिएको अख्तियारले जनाएको छ ।
कसलाई कति बिगो तोकी मुद्दा लगाइयो ?
अख्तियारका अनुसार आरोपित ७ जनामध्ये ५ जनालाई जनही १ करोड १० लाख ८० हजार रुपैयाँ बिगो तोकिएको छ । यसरी बिगो तोकिनेमा साविक जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन कार्यालय प्रमुख लालु गिरी र सोही कार्यालयका लेखापाल रामबहादुर दाहाल रहेका छन् । त्यस्तै, कृषि विकास बैंक मुख्य शाखा कार्यालय रत्नपार्कका तत्कालीन शाखा अधिकृत छविलाल ढकाललाई पनि सोही बिगो तोकिएको छ ।
त्यसैगरी, एम के निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक माधवप्रसाद खनाल र वाईपी कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक राजु श्रेष्ठलाई पनि १ करोड १० लाख ८० हजार रुपैयाँ बिगो तोकिएको छ ।
उता, एमकेवाईपीजेभीका आधिकारिक २ जना प्रतिनिधिलाई भने फरकफरक बिगो तोकिएको छ । सो कम्पनीका आधिकारिक प्रतिनिधि रणधीर तुम्बालाई ५५ लाख ३० हजार रुपैयाँ र देवजंग शाहीलाई ५ लाख ५५ हजार रुपैयाँ बिगो तोकिएको छ ।