झापाः ३ चक्के अटो रिक्साको लागि लिइने लिखित परीक्षा उत्तीर्ण गरी प्रयोगात्मक परीक्षा उत्तीर्ण गराइदिन्छु भनी घुस माग्ने बिचौलियालाई अख्तियारको टोलीले झापाको बिर्तामोडबाट पक्राउ गरेको छ ।

यातायात व्यवस्था कार्यालय, बिर्तामोड, झापाबाट लिइने लिखित र प्रयोगात्मक परीक्षा स्थलमा खटिने कर्मचारीलाई घुस दिनुपर्छ भन्दै रकम माग्ने बिचौलिया सराफ शेख पक्राउ परेका हुन् । सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ ।

सेवाग्राहीसँग घुसबापत १७ हजार रुपैयाँ लिइसकेको अवस्थामा बिर्तामोड नगरपालिका वडा नं. १ स्थित परिचय मार्गबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । सोमबार उनलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको प्रदीपकुमार कोइरालाले जनाएका छन् ।