धनकुटाः धनकुटामा केन्द्रीय कार्यालय रहेको काबेली विकास बैंक र विराटनगरमा रहेको सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरमा जाने भएका छन् ।

दुवै बैंकले बुधबार छुट्टाछुट्टै विशेष साधारण सभा आयोजना गरी मर्जर प्रक्रियालाई अन्तिम रूप दिएका हुन् । कावेली विकास बैंकका अध्यक्ष गोपालप्रसाद काफ्लेले काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकबीच मर्जर हुने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थाको कार्यक्षेत्रलाई प्रादेशिक स्तरको बनाउने नीतिअनुसार मर्जर गर्न लागिएको जनाइएको छ । नाफा कमाउनु, नेपाल राष्ट्र बैंकले बनाएको नियम पालना गर्नु बैंकको व्यावसायिक धर्म रहेकाले मर्जरमा गएको बैंकका कार्यकारी अधिकृत शैलेन्द्र बादे श्रेष्ठले बताए ।

दुवै विकास बैंकको सञ्चालक समितिले बैंकहरूको जोखिम बहन गर्ने क्षमता वृद्धि हुने, कारोबार क्षेत्रमा विस्तार हुने, व्यावसायिक परिणाम ठूलो हुनेजस्ता सकारात्मक फाइदालाई मनन गर्दै आपसमा गाभिने निर्णय भएको सञ्चालक समितिका सदस्य जनार्दन घिमिरेले बताए ।

मर्जरपछि बैकको नाम सप्तकोशी डेभलपमेन्ट बैंक रहने र प्रधान कार्यालय धनकुटा रहने जनाइएको छ । मर्जरपछि बैंकले ७ जिल्लामा १ केन्द्रीय कार्यालय, १ कर्पोरेट कार्यालय र २४ वटा शाखा कार्यालयसहित २६ वटा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्नेछ ।

kabeli  (2)