इटहरीः पूर्वका शहरमा क्याफेको प्रचलन शुरु भएको लामो समय भएको छैन । केही वर्ष अगाडि एउटा पनि क्याफे नभएका शहरमा अहिले हरेक चोकमा क्याफे देखिन थालेका छन् । पूर्वको उदयीमान शहर इटहरीमा विगत २ वर्षमा मात्र १० वटा क्याफे खुले । त्यसमध्ये केही सञ्चालनमा छन् भने केही चाहिँ शुरु भएको केही महिनामै बन्द भए । सञ्चालन भएकामध्ये पनि कुनै रेस्टुरेन्ट शैलीमा सञ्चालित छन् त कुनै होटलमा रूपान्तरण भइसके ।

खासमा क्याफे भन्नेबित्तिकै कफी खाने ठाउँ भन्ने बुझाइ छ । अलिक महङ्गो र स्ट्यान्डर रेस्टुरेन्टलाई पनि क्याफे भनेर बुझ्ने चलन छ । प्राकृतिक वातावरणमा सङ्गीतको साथमा तनाव विसर्जन गर्ने स्थानलाई क्याफे भनेर बुझ्ने गरिएको छ । दिनभरको थकान मेटाउन कफी खाँदै साथीभाइसँग भेटघाट गर्ने उपयुक्त गन्तव्य हो क्याफे । जसलाई तनाव विसर्जन केन्द्र पनि भनिन्छ । बिहानको समयमा फ्रेस हुनको लागि पनि क्याफेमा गएर कफी पिउने चलन छ । नेपालका केही शहरमा त्यो अभ्यास देखिन्छ । तर पूर्वका शहरमा खुलेका क्याफेहरू भने दिउँसो नास्ता खानको लागि मात्र बढी उपयोगी बन्ने गरेका छन् । विगत २ वर्षमा इटहरीमा खुलेका र निरन्तर सञ्चालनमा रहेका केही क्याफे यी हुन् ।

क्याफे अपस्टेयर्स

cafe upstairs
क्याफे अपस्टेयर्स सम्भवतः इटहरीको पहिलो क्याफे हो । इटहरीवासीलाई कफीमा लत बसाउने र व्यावसायिक रूपमा सञ्चालित पहिलो क्याफे हो अपस्टेयर्स । इटहरीको विराटनगर लाइनमा रहेको क्याफे ३ वर्ष अगाडि स्थापना भएको हो ।
स्थापनाको शुरुवातदेखि नै चर्चामा रहेको क्याफेले हालसम्म पनि गुणस्तरीय सेवा दिँदै आएको छ । हस्पिटालिटी र गुणस्तरमा शुरुदेखि नै ध्यान दिएको क्याफेले छोटो समयमा आफ्ना नियमित ग्राहक बनायो । पहिलो पटक भ्रमण गरेका ग्राहकको पहिलो रोजाइमा पर्न सक्छ अपस्टेयर्स । अस्ट्रेलियामा लामो समय हस्पिटालिटी म्यानेजमेन्टसम्बन्धी अध्ययन गरेर आएका पृथ्वी पराजुली लगायतका केही युवाले क्याफे सञ्चालन गरेका हुन् ।
होटल म्यानेजमेन्टसम्बन्धी पढाइ हुने स्किल क्याम्पसका विद्यार्थीलाई प्राक्टिकल गर्न मिल्ने गरी खोलिएको क्याफेले इटहरीमा आफ्नो छुट्टै छवि स्थापित गरेको छ । सञ्चालक पराजुली क्याफेको सङ्ख्या बढ्दै जानु सुखद भए पनि त्यसको गुणस्तरीयतामा ध्यान नदिँदा समग्र क्याफेप्रति गलत धारणा विकास हुने हो कि भन्नेमा चिन्तित देखिन्छन् ।

कफीलय

cafe coffelaya
क्याफेमा आफूलाई विशेष रूपमा चिनाउन सफल क्याफे हो कफीलय । इटहरीको धरान लाइनबाट आइतबारे जाने बाटोमा रहेको छ यो क्याफे । दैनिक २ सय कपसम्म कफी बिक्री गर्ने सो क्याफेले आफ्ना छुट्टै ग्राहक सर्कल बनाइसकेको जनाएको छ । पुस्तक पढ्दै कफी पिउने पारखीको लागि कफीलय उपुयक्त गन्तव्य बन्न सक्छ । अनौपचारिक रूपमा म्युजिकसहितको भेटघाटको लागि यो क्याफे इटहरीको परिचित जक्सन हो ।

ग्राउन्डस्

cafe grounds
इटहरी चोकबाट पूर्व लाइन, सेन्ट्रल प्लाजामा पर्छ ग्राउन्डस् क्याफे । सेन्ट्रल प्लाजा थाहा नभए पनि ग्राउन्डस् इटहरीवासीको लागि परिचित नाम हो । कफी अपस्टेयर्सकै फ्रेन्चाइज मानिएको ग्राउन्डस्ले आफ्नो छुट्टै ब्रान्ड स्थापित गरिसकेको छ । गत असोजबाट शुरु भएको उक्त क्याफेमा दैनिक १ सय ५० कप कफी मात्र बिक्री हुन्छ । त्यसका अलावा अन्य परिकारको बिक्रीले ग्राउन्डस्को कारोबार दैनिक २० देखि २५ हजार रुपैयाँसम्मको हुने सञ्चालक पृथ्वी पराजुली बताउँछन् ।
गुणस्तरीयतामा विश्वास गर्नेका लागि ग्राउन्डस्मार्फत आफ्नो परिचय स्थापित गर्न खोजेको उनको भनाइ छ । पूर्ण अनौपचारिक रहेको अपस्टेयर्सपछि ग्राउन्डसमा भने केही औपचारिकताको अभ्यास गरिएको छ । जुन कुरा बस्ने सोफादेखि सेवामा समेत अनुभव गर्न सकिने उनको भनाइ छ ।

फलैँचा

cafe falaicha
नाम नै अरुभन्दा फरक छ यसको । जहाँ बाँसको फलैँचामा बसेर पुस्तक पढ्दै माटोको कपमा चिया खान पाइन्छ । जुन इटहरीमा मात्र होइन प्रदेश १ कै नमुना क्याफे हो भन्दा फरक नपर्ने सञ्चालकको भनाइ छ । इटहरीमै पहिलो पटक माटोको कपमा चिया कफी दिने क्याफे हो फलैँचा । अरुमा जस्तो सोफा र फर्निचर राखेर औपचारिकता छैन यस क्याफेमा । बरु मुढामा बसेरै भए पनि मिठो कफी खान पाइन्छ फलैँचामा । पुस्तक प्रेमीको लागि पुस्तक पढ्दै माटोको कपमा चिया र कफी खाने वातावरण मिलाइएको छ । युवा व्यवसायी दिव्यराज गुरुङले क्याफे सञ्चालनमा ल्याएका हुन् । नाम र काम पनि फरक रहेको यस क्याफेले औपचारिक उद्घाटन नै नभई आफ्नो बजार बसाइसकेको छ । अर्गानिक खाजा र फ्रेस जुसको लागि पनि यो क्याफे चर्चामा छ ।

मझेरी

cafe majheri
इटहरी चोकदेखि २ किमी उत्तर धरान लाइनमा रहेको छ मझेरी । आँपगाछी चोकमा १ वर्ष अघि शुरु भएको मझेरी रेस्टुरेन्टले आफ्नो ब्राण्ड बनाइसकेको छ । शुरुमा रेस्टुरेन्टको रूपमा खोलिएको भए पनि पछि क्याफेको रूपमा विकास गरिएको हो । दैनिक ३० कपको हाराहारीमा कफी बिक्री हुन्छ । ३ जना युवाले सञ्चालन गरेको उक्त क्याफेमा कफी पारखीको होड लाग्न थालेको छ ।

चकलेट

cafe chcolate
इटहरी चोकको पश्चिममा छ चकलेट क्याफे । व्यवस्थित रूपमा सञ्चालित क्याफेले १ वर्ष पूरा गरेको छ । क्याफेको भीडमा नयाँ पहिचान हो चकलेट ।
इटहरीका केही उद्यमशील युवाको जक्सन नै बनेको छ चकलेट क्याफे । हुन त सञ्चालक आफैँ युवा भएर पनि हुनुपर्छ क्याफेका ग्राहक पनि त्यही समूहका बढी आउँछन् । कफी खाँदै साँझको समयमा शहरको रमझम हेर्न पाइने भएर नै यो क्याफेप्रति युवाको अकर्षण बढी छ । त्यही भएर यहाँ दैनिक १ सय कपसम्म कफीको व्यापार हुने गरेको सञ्चालक बताउँछन् ।