धरानः वराह समूहद्वारा सञ्चालित टाइम्स रेमिटले रेमिट्यान्स (मोबाइलबाट रेमिट्यान्स र बैंकिङ सेवा) को शुभारम्भ गरेको छ ।
माछापुच्छ्रे बैंक, टाइम्स रेमिट र एएमभी टेल कम्पनीबीच रेमिट्यान्स सेवासम्बन्धी समझदारी पनि भएको छ । विदेशबाट रेमिट्यान्स पठाउने नेपालीका साथै बैंकका ग्राहकलगायत सम्पूर्णका लागि त्रिपक्षीय समझदारी भएको बताइएको छ ।
समझदारीसँगै ‘रेमिट एप’ सेवा शुरु भएको छ । यसबाट अनलाइन, मर्चेन्ट भुक्तानीलगायतका सेवा ‘इन्डिक्रिप्टेड भर्चुअल मनी कार्ड’ मार्फत् गर्न सकिने बैंकले जनाएको छ ।
अहिले रेमिट्यान्स पठाउने माध्यमहरूबाट बढी समय र खर्च लाग्ने गरेको भन्दै यसबाट आफ्नो खाता वा वालेटमा एकैछिनमा पैसा आउने विज्ञप्तिमा उल्लेख छ । नेपालका १० हजार स्थानबाट रकम झिक्न सकिने बताइएको छ ।
माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले रेमिट एपको वालेटबाट अर्कोमा रकम पठाउन सकिने र कुनै पनि बैंकमा सजिलै रकम पठाउने सकिने सुविधा रहेको बताए । उनले भने, ‘हाम्रो सम्झौतापछि अब ग्राहकले सजिलै बैंकमा रकम पठाउन सक्नेछन् ।’
यो नेपालमा शुरु गरिएको पहिलो ३६० डिग्री ई–रेमिट्यान्स, ई–पेमेन्ट माध्यम भएको बताइएको छ । यसको प्रयोग गरी छिटो, सस्तो र सहज तरिकाले रेमिट्यान्स पठाउन सकिने बैंकले जानकारी दिएको छ । यस सेवाको शुभारम्भसँगै माछापुच्छ्रे बैंकका ग्राहक एवं सर्वसाधरणले ‘रेमिट्याप’ वालेट प्रयोग गरी विदेशबाट आफ्ना आफन्तलाई रेमिट्यान्स पठाउन सक्ने र डोमेस्टिक रेमिट्यान्स र बिल भुक्तानीको सुविधा पनि उपभोग गर्न पाउने बताइएको छ ।
बिल भुक्तानीका अलावा ग्राहकहरुले आफ्नो बैंक खाताबाट वालेटमा तथा वालेटबाट बैंक खातामा आफूले चाहेको रकम समेत स्थानान्तरण गर्न सक्ने बताइएको छ । यस ‘रेमिट्याप’, आईओएस तथा एन्ड्रोएड दुवै अपरेटिङ सिस्टम प्रयोगकर्ताको लागि उपलब्ध छ ।