विराटचोकः आवश्यक रकमको अभावमा मोरङको सुन्दरहरैंचामा रहेको ऐतिहासिक बाघझोडा पोखरीको निर्माण कार्य रोकिने सम्भावना बढेर गएको छ ।

पूर्व पश्चिम लोकमार्गदेखि करीब २ किलोमिटरको दूरीमा रहेको यो पोखरी निर्माणको काम विगत २ महिनादेखि चलिरहे पनि रकमको अभावमा काम नै रोक्नुपर्ने अवस्थामा पुगेपछि स्थानीय दुःखी भएका छन् ।

अन्दाजी ३ बिघा क्षेत्रफलमा फैलिएको यो ऐतिहासिक पोखरीको निर्माण कार्यका लागि प्रदेशबाट २० लाख, राष्ट्रपति चुरे संरक्षण विकास समितिको १५ लाख र लोहोन्द्रा केराबारी साझेदारी वनबाट १० लाख गरी जम्मा ४५ लाख रुपैयाँ छुट्याइए पनि हालसम्म कतैबाट पनि सम्झौताअनुसारको रकम नआएको स्थानीय बताउँछन् ।

‘तपाईहरू काम थाल्नुहोस् रकमको समस्या हुन्न भनियो । सम्झौता भएको पनि दुई महिना बितिसक्यो । त्यही सम्झौताकै भरमा काम थालियो तर अहिले आएर यतिका समय बितिसक्दा पनि रकम निकासा गरिएन,’ बाघझोडा संरक्षण समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङ भन्छन्, ‘रकम निकासा नगरिदिँदा आफूहरु काम नै रोक्नुपर्ने अवस्थामा पुगेका छौंँ ।’

पूर्व सांसद गुरुङका अनुसार पोखरीमा हालसम्ममा करिब ३३ लाख रुपैयाँबराबरको काम भइसकेको छ । दैनिक रूपमा २ वटा डोजर लगाएर पोखरीलाई गहि¥याउने र तीनवटा ट्रिपरबाट त्यहाको माटो बाहिर लैजाने काम भइरहेको छ ।

‘अहिलेसम्म त सापटी गरेर भए पनि काम चलाइँदै आइएको छ’, गुरुङ भन्छन्, ‘तर अब भने डोजरलाई तेल हाल्न दिने रकम समेत छैन ।’ यस्तो अवस्था आउँदासम्म पनि स्थानीय सरकारले सोधखोज नगरेकोमा भने झनै दुःख लागेको उनको भनाइ छ ।

रकम दिने आश्वासन दिएपछि रकमको अभाव हुन दिनु दुःखद भएको स्थानीय अमर गुरुङ बताउँछन् । पानीको अन्य स्रोत नहुँदा अधिकांश किसान यही पोखरीको भर पर्छन् । तर विगत २ महिनादेखि पोखरीको निर्माण हुँदै गर्दा पानीको स्रोत थुनिएको छ ।
एउटा मात्र भएको पानीको स्रोेत थुनिँदा आफूहरु ठूलो मर्कामा परेको बाघझोडा किस्ती पैनी समितिका अध्यक्ष अर्जुन कार्की बताउँछन् । उनी भन्छन्, ‘काम चाँडो सकिएर पानी खोलिदिए हुने थियो ।’