इटहरीः इटहरी उपमहानगरपालिकाले बनाउँदै गरेको ल्याण्डफिल्ड जाने बाटो ठेकेदारले ढिलो बनाएको भन्दै महालेखा परीक्षकको कार्यालयले क्षतिपूर्ति उठाउनुपर्ने औँल्याएको छ । सार्वजनिक खरीद नियमावली, २०६४ को नियम १२१ र सम्झौताको शर्तबमोजिम कार्य नगरेमा पूर्वनिर्धारित क्षतिपूर्ति असुल गर्नुपर्ने व्यवस्था भएकाले असुल गर्नुपर्ने महालेखाको हालै सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार इटहरी नगरपालिकाले दुमकट्टा ल्याण्ड फिल्ड साइटमा कल्भर्ट तथा बाटो निर्माण गरी ल्याण्ड फिल्ड साइट पहुँचमार्ग कालोपत्रे कार्य र टेङ्ग्रा खोलाको पुल निर्माणको लागि १२ महिनाभित्र कार्य सम्पन्न गर्ने गरी रु.१५ करोड ३३ लाख ५६ हजारमा ३ निर्माण व्यवसायीसँग सम्झौता गरेको थियो । सो सम्झौताअनुसार उपमहानगरपालिकाले रु.१० करोड ३८ लाख ४६ हजार भुक्तानी पनि गरेको छ ।
प्रतिवेदन भन्छ, ‘सम्झौता तथा कार्यतालिकाबमोजिम निर्धारित समयमा कार्य सम्पन्न नगरेको, निर्माण व्यवसायीबाट म्याद थप माग नभएकोले सम्झौताको शर्तबमोजिम रु.९९ लाख ७ हजार पूर्वनिर्धारित क्षतिपूर्ति असुल गर्नुपर्दछ ।’