इलामः चियाको राजधानी सूर्योदय नगरपालिकामा रहेका ५२ वटा चिया कारखानाले सरकारले तोकेको श्रम ऐन कार्यान्वयन गर्न सहमत भएका छन् ।
सूर्योदय टि प्रोडयुसर्स एसोसिएसनमा आबद्ध रहेका उद्योगले सरकारसँग २५ बुँदे माग राख्दै श्रम ऐन कार्यान्वयमा ल्याउन लागेका हुन् । एसोसिएसनको गत चैत ३० गतेको बैठकले सरकारसँग केही शर्त राखेर असारसम्म सेवासुविधा श्रमिकलाई दिने जनाएको छ । एसोसिएसनले सरकारसँग राखेको माग पूरा नभए त्यसपछि सरकारी सेवासुविधा कार्यान्वयन गर्न नसक्ने जनाएको छ ।
सरकारले पछिल्लो समय तोकेको सेवासुविधा पाउनुपर्ने भन्दै चिया श्रमिक आन्दोलित भएपछि मजदुरको आन्दोलनका कारण चिया उद्योगसँगै किसानलाई पनि समस्या भएको भन्दै एसोसिएसनका पदाधिकारीको टोलीले काठमाडौं पुगेर सरकारसँग २५ बुँदे माग राखेका थिए । ती माग पूरा भए मात्र मजदुरको बढेको सेवासुविधालाई निरन्तरता दिन सकिने एसोसिएसनका अध्यक्ष पुनम राईले बताए ।
सरकारले पछिल्लो समय चिया मजदुरको दैनिक ज्याला २ सय ३१ रुपैयाँ, महङ्गी भत्ता १ सय ५४ रुपैयाँ, खाजा भत्ता ४२ रुपैयाँ तोकेको छ । ज्यालाको १० प्रतिशत सञ्चयकोष, उपदानका लागि ८ दशमलव ३३ प्रतिशत र सामाजिक सुरक्षाकोषमा १ दशमलव ६७ प्रतिशत रुपैयाँ उद्योगहरूले जम्मा गर्नु पर्दछ । यसरी सरकारले तोके अनुसार सेवासुविधा दिँदा दैनिक ४ सय २७ रुपैयाँ उद्योगले मजदुरलाई भुक्तानी गर्नुपर्दछ ।
६१ मध्ये ९ उद्योगमा श्रम ऐन तत्काल लागू नहुने
सूर्योदय नगरपालिका क्षेत्रभित्रका ६१ वटा उद्योगमध्ये सरकारी स्वामित्व रहेको कन्याम चिया बगान, सुन्दरपानी टि स्टेट लगायतका ९ वटा उद्योगमा भने श्रम ऐन कार्यान्वयन हुनेछैन । सरकारले चिया उद्योगलाई बेवास्ता गरेको भन्दै चिया उद्योगलाई दीर्घकालीन कृषि उद्योगको रूपमा विकास गर्न एसोसिएसनले माग गरेको छ । नेपालमा उत्पादित ९० प्रतिशत चिया भारतमा कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि सरकारले पहल गर्नुपर्ने चिया उद्योगीको माग छ । विद्युत महशुलमा सहुलियत, अनुदानको व्यवस्था, किसानलाई अनुदानको व्यवस्था, कारखानाको मेसिन र अन्य औजार खरीदमा विशेष अनुदान लगायतका माग उद्योगीको छ ।
भारततर्फ निकासी हुने चियामा १५ प्रतिशत अनुदानको माग भए पनि सरकार ५ प्रतिशत दिन तयार भएको अध्यक्ष राईले बताए । उनले सरकारसँग राखिएको २५ बुँदा अधिकांश किसानको हितमा रहेको बताए । उद्योगीले यी माग सरकारले सम्बोधन गरे मात्र पछिल्लो ज्याला र सुविधा कार्यान्वयन गर्न सकिने बताएका छन् ।
नगरपालिकाका आर्थिक विकास समितिका संयोजक एवम् वडा नं ९ का अध्यक्ष देवेन्द्र शर्माले सरकारी स्वामित्व रहेको कन्याम चिया बगानमा समेत श्रम ऐन कार्यान्वयन हुनुपर्ने बताए । उनले टि एसोसिएनमा आबद्ध नभएका सुन्दरपानी लगायत ९ वटा उद्योगसँग छलफल चलाएर नगर क्षेत्रका ६१ वटै निजी उद्योगमा श्रम ऐन लागू गर्न पहल गरिने जानकारी दिए ।