बेलबारीः देशमा बेरोजगारको अवस्था कस्तो छ भन्ने आँकलन प्रधानमन्त्री रोजगार कार्यक्रमले देखाउन थालेको छ । स्थानीय तहमा सङ्कलन गर्न थालिएको तथ्याङ्क हेर्ने हो भने अहिले १८ वर्षदेखि ७४ वर्षसम्मका मानिसले रोजगारीका लागि आवेदन दिइरहेका छन् ।
मोरङको बेलबारीकी एक ज्येष्ठ महिलाले आफू बेरोजगार रहेको जनाउँदै फारम भरेकी छिन् । वि.स.२००२ सालमा जन्मिएकी चित्रमाया गुरुङले फारम भरेकी छिन् । गुरुङले भरेको फारममा राखिएको नागरिकताको प्रतिलिपि अनुसार उनको उमेर ७४ वर्ष भइसकेको छ । उनले भरेको फारममा आफू निरक्षर रहेको बताइएको छ । वृद्ध महिलाले तान बुन्ने सीप रहेको फारममा उल्लेख गरिएको छ । उनको परिवारमा ६ जना रहेको जनाइएको छ । जसमध्ये ५९ वर्षका २ जना रहेको उल्लेख गरिएको छ । यस्तै २ जना दृष्टिविहीनले समेत फारम भरेका छन् । दृष्टिविहीन श्याम खवास तथा सुनिल चौधरीले फारम भरेका छन् ।
सरकारले १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका बेरोजगार रहेका व्यक्तिहरुलाई रोजगार दिने उद्देश्यका साथ प्रधानमन्त्री रोजगार कार्यक्रमको अवधारणा ल्याएको हो ।
स्थानीय तहमा अहिले फारम भर्नेको चाप बढिरहेको छ । ‘वडामा फारम भर्नेको चाप बढिरहेको छ’, प्रधमानमन्त्री स्वरोजगार कार्यक्रम बेलबारीका रोजगार संयोजक विनोद दाहालले बताए । दाहालका अनुसार बेलबारीमा अहिलेसम्म पुरुष भन्दा बढी महिलाले फारम भरेका छन् । तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको दाहालले बताए ।