इटहरीः अब हरेक प्रदेशमा घोषणा हुने नयाँ औद्योगिक ग्रामहरूमा ९ देखि १५ प्रतिशतसम्म पार्क र हरियाली क्षेत्र हुनुपर्ने नियम लागू हुने भएको छ । नेपाल सरकारले बनाएको नयाँ कार्यविधिले यस्तो नियम बनाएको हो ।
प्रदेश १ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयका सचिव बद्रीप्रसाद ढुङ्गानाका अनुसार कार्यविधि सङ्घीय सरकारले पारित गरेकाले देशभर एकै रूपमा लागू हुने छ ।
हिमाली क्षेत्र तथा दुर्गम पहाडी क्षेत्र, पहाडी क्षेत्र र तराई क्षेत्रमा औद्योगिक ग्राम बनाउन फरकफरक क्षेत्रफल तोकेको कार्यविधिले सबै क्षेत्रका औद्योगिक ग्राममा १५ प्रतिशतसम्म पार्क र हरियालीको क्षेत्रफल हुनुपर्ने नियम बनाएको छ ।
हरेक औद्योगिक ग्रामको लागि ७ देखि १० प्रतिशतसम्म हरियाली क्षेत्र र २ देखि ५ प्रतिशतसम्म खुला मैदान तथा पार्क बनाउनुपर्ने भएको छ । हिमाली तथा दुर्गम पहाडी क्षेत्रमा ३० रोपनी, पहाडी क्षेत्रमा ४० रोपनी र तराई क्षेत्रमा न्यूनतम ७ बिघा क्षेत्रफललाई औद्योगिक ग्राम बनाउन सकिने कार्यविधिले उल्लेख गरेको छ । भौगोलिक अवस्थितिअनुसारको क्षेत्रफलभित्र ९ देखि १५ प्रतिशतसम्म पार्क तथा हरियाली क्षेत्र हुनुपर्ने भएको हो ।
औद्योगिक ग्रामको लागि आवश्यक जग्गालाई विभिन्न ७ खण्डमा विभाजन गर्दा १५ प्रतिशत भाग पार्क र हरियाली क्षेत्रलाई छुट्याइएको हो ।
औद्योगिक ग्राम मानव बस्तीबाट न्यूनतम १ किलोमिटर र अन्तर्राष्ट्रिय सिमानादेखि २ किलोमिटर टाढा हुनुपर्ने कार्यविधिले उल्लेख गरेको छ । मापदण्ड पुगेका औद्योगिक ग्रामलाई स्थानीय तहको सिफारिशपछि प्रदेश सरकारले औद्योगिक ग्राम घोषणा गर्ने कार्यविधिमा उल्लेख गरिएको छ ।