इटहरीः सुनसरीको इटहरी–२ शान्तिनगरमा सामुदायिक भवन निर्माणको लागि लगाइएको पुराणबाट ३० लाख ५७ हजार रुपैयाँ सङ्कलन भएको छ ।
शान्तिनगर देवीथानमा अवस्थित तिरुपति शिव मन्दिर र सिंहदेवी मन्दिरको सामुहिक जग्गामा भवन निर्माण गर्नको लागि पुराणको आयोजना भएको थियो ।
तिरुपति शिवमन्दिरले आयोजना गरेको उक्त पुराणमा हजारौँ भक्तजनको उपस्थिति रहेको आयोजकले जानकारी दिए ।
बैशाख २ गतेदेखि शुरु भएको श्रीमद्भागवत महायज्ञको सप्ताह पुराणमा उक्त परिमाणमा रकम सङ्कलन भएको आयोजकले जनाएको छ । आयोजक समितिका अध्यक्ष नरबहादुर मोक्तानका अनुसार सार्वजनिक भवनको अभाव खड्किइरहेको अवस्थामा सार्वजनिक भवन निमार्णको अभियान चलाइएको हो । पण्डित श्री राधिका दासी र पण्डित सुरेश भट्टराईले पुराण वाचन गरेका हुन् ।
पुराणले भवन निर्माणमा मात्र नभई सामाजिक कार्यप्रति समेत जागरुक गराउने अध्यक्ष मोक्तानको भनाइ छ ।