झापाः काँकरभिटा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आयोजनामा आइतबारदेखि प्लम्बिङ तालीम शुरु भएको छ । ३ महिनासम्म सञ्चालन हुने सो तालीमको मेचीनगरकी उपप्रमुख मीना पोखरेल उप्रेतीले उद्घाटन गरेकी थिइन् ।

उद्घाटन कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले तालीममा सिकेको सीपलाई व्यवहारमा उतार्न सके मात्र पनि मानिस बेरोजगार बन्नुनपर्ने धारणा राखेका थिए । तालीममा सिकेको सीपलाई व्यवहारमा उतार्न उनीहरूले सुझाव दिएका थिए ।

कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष सूर्यप्रकाश उप्रेती, राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर अध्यक्ष सुशील आचार्य, नेपाल पत्रकार महासङ्घ झापाका सचिव सन्तोष आचार्यलगायतले बालेका थिए ।

व्यावसायिक तथा सीप विकास तालीम केन्द्र १ नम्बर प्रदेश भद्रपुरको प्राविधिक सहयोगमा शुरु तालीममा नगरका २० जना प्रशिक्षार्थी सहभागी छन् । उनीहरूलाई फागुराम धिमाल र लोकबहादुर राउतले सैद्धान्तिक तथा व्यावहारिक ज्ञान दिनेछन् ।