इटहरीः धरानबाट देश तथा विदेशमा आफ्नो व्यापारिक उपस्थिति देखाइसकेको बराह ग्रुपले भेडेटारमा पनि नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । बराहको २५ औँ स्थापना दिवसको अवसरमा बुधवार दिउँसो साँझुरिगढि गाँउपालीकाका अध्ययक्ष कुमार जङ्ग याक्खाले आउटलेटको औपचारिक उद्घाटन गरेका थिए । उद्घाटनपछि छोटो मन्तव्य राख्दै गाउँपालिका अध्यक्षले आफ्नो ठाउँबाट बराहलाई सहयोग गर्ने बताए ।
भेडेटार र आसपासका क्षेत्रका ग्राहकहरूलाई सुनचाँदीका गरगहना, पेय पदार्थ र ग्रोसरी आइटमहरूको खरिद गर्न धरान जानुपर्ने बाध्यतालाई कम गर्न यस्तो गरिएको बराहका सञ्चालक मान बहादुर दियालीले बताए । करिब २० जनालाई प्रत्यक्ष र दर्जनौँलाई अप्रत्यक्ष रोजगार सिर्जना गर्ने बताउँदै दियालीले बराहको नयाँ आउटलेटले भेडेटारको पर्यटन क्षेत्रमा सहयोग हुने बताए ।
बराह ज्वेलरी इन्डस्ट्रिज प्रालीका अध्यक्ष शिव लामिछाने, ज्वेलरीका सञ्चालक तथा धरान शाखा प्रमुख मान बहादुर दियाली लगायतका बराहका पदाधिकारीहरूको उपस्थिति रहेको कार्यक्रममा होटेल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली लगायतका व्याक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै रुम्दालीले आफूले १७ वर्ष अगाडि होटलका आवश्यक सामाग्रीहरू खरिद गर्नलाई धरानमा गएर चारतिर सामान खोजेर गाडीको हुटमा राखेर ल्याउनुपरेको र बराहको नयाँ आउटलेटबाट नयाँ व्यवसायीको लागी त्यो समस्या अन्त्य हुने बताए ।
बराह ज्वेलरी इन्डस्ट्रिज प्रालीका अध्यक्ष शिव लामिछानेले अब भेडेटारपछि नाम्जेमा पनि फुलबारी सहितको होमस्टेका सुविधाहरू सुरु गरेर पर्यटन क्षेत्रमा बराह समूह सक्रिय हुने बताए । २०५२ सालमा स्थापना भएर धरान, काठमाडौँ, पोखरा, चितवन र विदेशमा जोर्डन, हङकङ, दुइब र युके लगायतका देशमा समेत ज्वेलरी तथा डिपार्टमेन्टल क्षेत्रमा सेवा दिइरहेको बराह इन्डस्ट्रिज प्रालीले कुरियर देखी सङ्गीत सम्मका दर्जनौँ क्षेत्रहरूमा व्यवसाय सञ्चालन गरिरहेको छ ।