यही असार १४ गते हुने उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको चुनावको लागी अहिले नयाँ व्यवसाय दर्ताको बारेमा उवासंघ कार्यसमितिमा विवाद भएको छ । स्वयं व्यवसायीले वा उसको परिवारका सदस्यले मात्रै व्यवसाय दर्ता गर्न पाउने वा अरूले पनि एकमुष्ट दर्ता गरिदिन पाउने भन्ने बारेमा अहिले विवाद देखिएको छ । उवासंघ कार्यसमितिले आज बिहान बैठक बसेर यस बारेमा औपचारिक निर्णय नै गरेको छ ।
तर, निवर्तमान अध्यक्ष रोहित पर्साइ, वर्तमान कार्यसमिति सदस्यहरू भीम पौडेल र दिवस पोखरेल लगायत भने उक्त निर्णयको विपक्षमा रहेका छन् ।
यसै मेसोमा रहेर प्रदेशपोर्टलकर्मि विराट अनुपमले उवासंघका अध्यक्ष तथा प्रदेश १ का प्रत्यक्ष निर्वाचित सांसद लिलम बस्नेतसँग यी विषयमा कुराकानी गरेका छन् । कुराकानीको सारांशः
व्यवसाय दर्ताको लागी स्वयं वा परिवारका सदस्य उपस्थित हुने नियम किन बनाइएको हो?
उद्योग वाणिज्य सघं इटहरीको चुनाव यही असार ११ मा हुँदैछ । नयाँ व्यवसाय दर्ताको समय सीमा भने जेठ १० गते सम्म छ । दर्ता हुने मिति सम्म मुठाका मुठा कागजी फारमहरू बनाउने प्रथा पहिले देखि रहेको छ । यो प्रथाको अन्त्य गर्न हामीले औपचारिक निर्णय गरेका छौँ ।
चुनाव आउन लाग्दा यसरी कडाइ गरिएपनि हुनेको हालीमुहाली भन्ने आलोचना सुरु भएको छ । किन यस्तो भयो?
स्वयं व्यवसायी वा परिवारको सदस्य आएर मात्रै व्यवसाय दर्ता गर्ने कुराको थालनी म अध्यक्ष भएबाटै सुरु गरेको हो । २०७३ सावन १ गते म आएपछि यो नजिर बसाइएको थियो । अहिले आजको बैठकले औपचारिकता दिएको हो । यसमा कुनै राजनीति छैन । कसैलाई नक्कली फारम खोलेर अध्यक्षले आफ्ना पक्षका मात्रै दर्ता गरेको छ भन्ने लागेको छ भने आएर हेर्न सक्नु हुनेछ । हामीसँग चुनाव आउन दुई महिना बाकि छ । कुनै छानबिन समिति बनाएर निचोड निकाल्न पनि हामी तयार छौँ ।
सँगैको विराटनगरमा कर दाखिलाको प्रमाणपत्रबिना व्यवसाय दर्ता हुँदैन । धरानमा पनि एक वर्ष अगाडि भित्रै दर्ता वा नवीकरण भएका व्यवसायीले मात्रै चुनावमा भाग लिन्छन् । हामीकहाँ भने मुठाका मुठा चुनावमा नयाँ व्यवसाय दर्ता गर्ने र व्यवसायीलाई पनि नक्कली फारमलाई आफै दर्ता गराउने आर्थिक भार परेको छ । आफ्नो नाममा काजगी व्यवसाय दर्ता गराउनेलाई पनि करको तनाव छ । चुनावको वर्ष पो उम्मेदवारले कागजी व्यवसाय दर्ता गरिदेलान् । तर, अर्को वर्षबाट त कर उसैले तिर्नुपर्छ । व्यवसाय बन्द गर्न पनि ५ हजार त गयो । यो प्रथाको अन्त्य गर्न हामी लागि परेका छौँ । उवासंघको चुनावको लागी मात्रै व्यवसायी बन्ने प्रथा बन्द गरिएको छ ।
स्वयं व्यवसायी र परिवारका सदस्यले मात्रै व्यवसाय दर्ता गर्दा परिवारका सदस्यहरू नभएका र व्यवसायमा व्यस्त मान्छेले आफ्ना स्टाफबाट दर्ता गराउने बाटो बन्द भयो । यसको समाधान के हो?
यो समस्याको लागी पनि हामीले नियम बनाएका छौँ । कुनै व्यवसायमा जोडिएको व्यक्ति, कर्मचारी वा प्रतिनिधिले आफ्नो परिचय खुल्ने परिचय पत्र लिएर आएको अवस्थामा व्यवसाय स्वतः दर्ता हुन्छ । आजका विभिन्न ४ निर्णयको तेस्रो निर्णयमा यसको प्रस्ट व्यवस्था गरिएको छ । स्टाफहरूबाट पनि व्यवसाय दर्ता हुँदैन भनेर हल्ला गर्ने साथीहरूले राजनीति मात्रै गरेका हुन । यो कुरा क्रमशः व्यवसायीहरूले बुझ्दै जानेछन् । बुझाउने छौँ । सच्चा व्यवसायीको लागी यो कुनै समस्या हैन ।
यो नियम बनाएर बहुमत सदस्य भएको तपाँइहरुले आफ्ना पक्षधर मात्रै व्यवसायहरू दर्ता गर्ने आशङ्का पनि छ नि !
त्यो हुँदैन । बरु, म अध्यक्ष हुँदाको चुनावमा मेरा प्रतिस्पर्धीहरूले मुठाका मुठा फारमहरू ल्याएर चुनावको अन्तिम मिति सम्म दर्ता गर्नु भएको थियो । मैले मौन बसे । तर, जब म अध्यक्ष भएर आए, मैले नियम बसाए । लठिभद्र तथ्याङ्कहरू व्यवस्थित गरे । सफ्टवेयर प्रणाली विकास गरे । अहिले जुन सूचना जतिखेर खोज्दा पनि पाइन्छ । यो नियम स्वयं कार्यसमितिका सदस्यसँग जोडिएका व्यवसायमा पनि लागु भएको छ । पुनः म यदि व्यवसाय दर्ताको क्रमशः नक्कली व्यवसाय बनाइएको छ भने स्वतन्त्र छानबिन समूह बनाउन म सधैँ तयार छु । दर्ताको अन्तिम मिति जेठ १० र चुनाव असार ११ गते हुनाले हामीसँग छानबिनको उचित समय पनि हुन्छ । शङ्का लाग्नेहरूले आफै कार्यालयमा पुगेर हेर्न सक्नु हुनेछ ।