इटहरीः गैरकानुनी रूपमा वित्तीय कम्पनी सञ्चालन गरेको भन्दै इटहरी प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

इटहरी– ६ मा पूर्णागिरी इन्भेष्टमेन्ट प्रालि नामक कम्पनी खोली काम गरेको भन्दै इटहरीका गजेन्द्र घिमिरे शनिबार पक्राउ परेका हुन् । उनलाई वित्तीय अपराध गरेको ठहर गर्दै मुद्दा दायर गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीसहित केहीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले २०७४ सालमा अनुसन्धान गरी मुद्दा दायर गरेको थियो । इटहरीका विभिन्न वित्तीय ठगीमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गरी कारवाही गरे पनि उनीलगायत केही व्यक्ति सो बेला फरार रहँदै आएको प्रहरीले जानकारी दिएको छ ।

पछिल्लो समय इटहरीमा आएर पुनः व्यवसाय सञ्चालन गर्दै गरेका घिमिरेलाई प्रहरीले पक्राउ गरेको इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाईले जानकारी दिएका छन् ।

अवैध रूपमा वित्तीय कारोबार गरेको ठहरका साथ घिमिरेलाई जिल्ला अदालतबाट पक्राउ पूर्जी ल्याई पक्राउ गरिएको हो । उनलाई वित्तीय अपराधमा मुद्दाको प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ । यस्ता कम्पनीले छोटो समयमा आर्थिक लाभ लिन राष्ट्र बैँकसँगको इजाजतबिना मोटो रकम अवैध रूपमा ब्याजमा लगाउने गर्छन् ।

कम्पनी दर्ता नगरी यसरी सर्वसाधारणबाट उठाइएको ठूलो रकम जोखिममा पर्ने डर भएपछि सीआईबीले यस विरुद्ध विशेष अप्रेशन नै चलाएको थियो । स–साना फर्म दर्ता गरेर मोटो रकमको कारोबार गर्ने र मिटर ब्याजमा समेत रकम लगाउने गरेको थाहा पाएपछि प्रहरी सो कार्यविरुद्ध सक्रिय भएर लागेको थियो । इटहरीमा यस्ता धेरै कम्पनीले गैरकानुनी रूपमा धन्दा चलाइरहेको सूचना आएर र त्यसविरुद्ध सुक्ष्म ढङ्गले अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।