झापा: नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाको चारआली कार्यालय भवन शिलान्यास तथा एनएमसी रजत वर्ष स्मारिका विमोचन सम्पन्न भएको छ ।

मेचीनगर– १३ स्थित चारआलीमा आयोजित कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र उपप्रममुख मीना पोखरेल उप्रेतीले संयुक्त रूपमा भवनको शिलान्यास तथा स्मारिका विमोचन गरेका थिए । शिलान्याास समारोहमा बोल्दै नगरप्रमुख आचार्यले नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले गुणस्तरीय शिक्षाका लागि विद्यालय सञ्चालनमा पनि लाग्नुपर्नेमा जोड दिए ।
सहकारीले उत्पादन गरेका वस्तुको बजारीकरण गर्न स्थानीय सरकारका हैसियतले नगरपालिका लाग्ने बताउँदै प्रमुख आचार्यले सहकारीलाई उत्पादनशील क्षेत्रमा लागानी गर्न समेत आग्रह गरे ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले अहिले जताततै विषादीको प्रयोग बढेको र यसले मानव शरीरमा नकरात्मक असर परेको भन्दै सहकारी संस्था अर्गानिक खेतीतर्फ लाग्नुपर्ने बताइन् । यसका लागि नगरपालिकाले गर्ने जस्तोसुकै सहयोग गर्ने उनको भनाइ थियो ।

भवन निर्माण समितिका सदस्य माधवचन्द्र प्याकुरेलले नवनिर्मित भवन लिफ्टसहितको अत्याधुुनिक र चारतले हुने जानकारी दिए । २०७७ सालको असारभित्रममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको सो भवन निर्माणको अनुमानित लागत २ करोेड ९१ लाख रुपैयाँ रहेको उनले बताए ।

यसैगरी, झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल र जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष गणेश ढकालले स्मारिकाका बारेमा समीक्षा गरेका थिए । पोखरेलले स्मारिकाले नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको विगत र वर्तमानको चित्रण गरेको भन्दै झापाका सहकारी संस्था विकास र समृद्धिको औजार रहेको बताए । सहकारी संस्था बसी खाने परम्पराको अन्त्य गर्ने माध्यम बनेका भए पनि धेरै सहकारी संस्था सहकारीका सिद्धान्तबाहिर गएर सञ्चालन भएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ थियो ।

जिल्ला सहकारी सङ्घ झापाका अध्यक्ष गणेश ढकालले नेपाल बहुउद्देश्यीय सहकारी संस्था आफ्नो स्थापनाकालदेखि नै कतै पनि अविचलित नभई सहकारीका मूल्य र मान्यतालाई आत्मसात गदैं अघि बढेका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमै आफूलाई अलग रूपमा पहिचान गराउन सफल भएको बताए । यो संस्था नेपालका धेरै सहकारीका लागि पाठ बन्ने र यस संस्थाबाट धेरै कुरा सिक्नुपर्ने उनको भनाइ थियो ।

संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले संस्थाको विगत, वर्तमान र भविष्यका बारेमा चर्चा गरेका थिए । उनले संस्थाले सहकारी पसल, एनएमसी डेरी उद्योग, कृषि परियोजनालगायतका बहुउद्देश्यीय काम गरिरहेको जानकारी दिए ।