इटहरीः धनकुटामा केन्द्रीय कार्यालय भएको गुराँस लघुवित्त वित्तीय संस्थाले सोमबारदेखि सर्वसाधारणका लागि सर्वसाधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले २ लाख ३३ हजार ६ सय २५ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

२ लाख ५० हजार कित्ता सर्वसाधारण शेयर मध्ये ३ हजार ८ सय ७५ कित्ता कम्पनीका कर्मचारीका लागि र १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको २ लाख ३३ हजार ६ सय २५ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याइएको बताइएको छ ।

सो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ सय कित्तासम्म प्रतिकित्ता १ सय रुपैयाँका दरले आवेदन गर्न पाइने कम्पनीले जनाएको छ । सो लघुवित्तको जारी पूँजी ७ करोड ७५ लाख रुपैयाँ रहेको बताइएको छ ।

२२ वटा शाखा कार्यालयमार्फत् पूर्वका १० जिल्लामा आफ्नो कार्यक्षेत्र बिस्तार गरेको सो कम्पनी गत आर्थिक वर्ष २०७४÷७५ मा ४६ लाख रुपैयाँ नोक्सानीमा रहेको थियो । आर्थिक वर्ष २०७७÷७८ सम्ममा ३ करोड ९७ लाख रुपैयाँ नाफा कमाउने कम्पनीले अनुमान गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले ६९ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ । सो लघुवित्तमा खराब कर्जा अनुपात साढे ३ प्रतिशत रहेको बताइएको छ ।