इटहरीः पश्चिम नेपालका पसल रोकाया नामका एक व्यक्तिले प्राविधिक तथा व्यावसायिक तालीम परिषद (सीटीईभीटी) लिने परीक्षामा पास गराउने भन्दै रकम लिएको खुलासा भएको छ ।
पैसा लिएर पनि फेल भएका विद्यार्थीका साथीहरूले प्रदेश पोर्टललाई जानकारी दिएपछि यस बारेमा खुलासा भएको हो । सीटीईभीटीका विभिन्न परीक्षामा पास गराउने भन्दै मोटो रकम लिने रोकायाले आईएमई र अन्य माध्यमबाट रकम लिएको कागजात फेला परेको छ ।
६०३०२६÷३ नागरिकता नम्बर र ९७४८०८२६५० मोबाइल नम्बर भएका रोकायाले पटकपटक आईएमई र बैंकहरूबाट रकम लिएको पाइएको छ । उनले प्रदेश नम्बर १ की एक मेडिकल छात्राबाट २ किस्तामा ८० हजार रुपैयाँ लिएको कागजात कोशीपत्रले पाएको छ । एक पटक ५० हजार र अर्कोपटक ३० हजार गरेर रोकायाले पैसा लिएको पाइएको छ । ३० हजार काठमाडौंबाट र ५० हजार भक्तपुरबाट लिइएको पाइएको छ ।
पटकपटक रकम दिने ती छात्रा एक्ली नभएको उनकी साथी कमला शर्माले बताइन् । शर्माका अनुसार रोकायाले सामाजिक सञ्जाल फेसबुकबाट चिनजान गरेर सीटीईभीटीको परीक्षा दिने छात्राहरूलाई साथी बनाउँथे । साथी बनाएपछि आफूले परीक्षाको नतिजा मिलाउन सक्ने भन्दै रकम लिन्थे ।
आफैँ लेखेर पास हुन सक्ने भए पनि परीक्षाको चिन्ता हुनेबाट रकम लिएर आफूले पास गराइदिएको भनी उनले बताउने गरेका थिए । पैसा दिँदा पनि फेल भएकाहरूले पैसा फिर्ता मागेपछि धम्क्याउने गरेको शर्माले बताइन् ।
‘आफूले चक्रे मिलनदेखि नेकपाका ठूला नेताहरू चिनेको भन्दै थर्काउने र ज्यान मार्ने धम्की दिन्छन्,’ शर्माले भनिन् । आफ्ना धेरै साथीहरू पीडित भएको भन्दै शर्माले रोकाया जस्ता गिरोहको अन्त्य हुनुपर्ने बताइन् ।
रोकायाले ठगेको भन्दै धरान प्रहरीमा उजुरी
पटकपटक लाखौँ रकम लिएर दर्जनौँ युवतीहरूलाई ठगी गरेका रोकायाको विरुद्धमा धेरैले आवाज नउठाएको शर्माले बताइन् । तर, १ जना साथीले भने धरान प्रहरीमा आफ्नै दबाबमा उजुरी दिएको शर्माले बताइन् । २०७५ फागुन ५ गते उजुरी दिएको कागजसमेत देखाएकी शर्माले रावललाई अझै पक्राउ गर्ने वा घटनाको सम्बन्धमा अनुसन्धान गर्ने काम भने नभएको बताइन् ।
यता, इलाका प्रहरी कार्यालय धरानका डीएसपी सुनम तिम्सिनाले भने ठगीको मुद्दा सरकार वादी भएको भन्दै पीडितको सुरक्षा र अनुसन्धानपछि दोषी प्रमाणित भए कारबाही हुने बताए । उनले भने, ‘ठगीको मुद्दामा प्रहरीले धेरै गम्भीर भएर अनुसन्धान गर्छ । दोषीलाई कसुरअनुसार कारबाही हुन्छ ।’