विराटनगरः प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले प्रदेश सरकारले अन्तिम चौमासिकसम्ममा सरकारको खर्च ६० प्रतिशतसम्म पु¥याउने दाबी गरेका छन् ।
अहिले सरकारले विकास खर्च गर्न नसकेको भन्दै चौतर्फी रूपमा आलोचना भइरहेको बेला मन्त्री आङ्बोले सरकार विकास खर्च बढाउन अग्रसर भएको बताए ।
‘ढिलो गरी संरचना प्राप्त भयो । कर्मचारी प्राप्त भएनन्, पर्याप्त थिएनन् । बनाएका योजनाको विस्तृत सम्भाव्यता अध्ययन गरेर निर्माण कार्यसम्म पु¥याउँदा समय लाग्दथ्यो,’ बढीभन्दा बढी खर्च गर्ने सामथ्र्य अब बढेर जाने बताउँदै उनले भने, ‘पहिलो र दोस्रो चौमासिकमा खर्च हुन सकेन । तर अभाव र सीमाका बाबजुद खर्च बढेको छ । तेस्रो चौमासिकसम्म आउँदा खर्च गर्ने सामथ्र्य बढेको छ । लगभग ६० प्रतिशतसम्म बजेट खर्च हुन्छ ।’
असारमा बढी खर्च भन्दा पनि बढी भुक्तानी हुने गरेको विषयमा मन्त्री आङ्बोले ठूला तथा साना योजनाको ठेक्का भई भौतिक प्रगति हुने तर असारमा भुक्तानी हुने गरेकाले बढी खर्च असारमा मात्र भएजस्तो देखिएको बताए ।
भौतिक प्रगति गरे पनि भुक्तानी नभएकाले वित्तीय प्रगति नदेखिएको बताउँदै उनले भौतिक र वित्तीय दुवै प्रगति भएर समग्र प्रदेशको खर्च बढ्ने बताए । उनले १ वर्ष दुःखकष्टसहित प्रदेश सरकारले काम गरेको र अहिले राम्रो ज्ञान पनि प्राप्त भएको जनाए । भने, ‘दोस्रो चौमासिकदेखि खर्च गर्ने क्षमता समेत वृद्धि भएको छ । सामथ्र्य पनि बढेको छ ।’
प्रदेश सरकार नयाँ संरचनाको जगममा उभिएकाले सिक्दै जाने र अनुभव लिने क्रमसमेत चलेको बताउँदै मन्त्री आङ्बोले सरकारको लक्ष्य पनि जनसरोकारअनुसारकै विकास भएको स्पष्ट गरे । प्राप्त सिलिङको आधारमा सङ्घीय सरकारबाट प्राप्त अनुदान ७ देखि ८ महिनासम्म अब खर्च गर्न सक्ने र विकासले गति लिने पनि उनले बताए ।
‘केन्द्रले आन्तरिक राजस्वको ठूलो हिस्सा प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्छ । प्रदेश र स्थानीय तहलाई विकासको मुख्य अङ्ग बनाइनुपर्छ,’ उनले भने, ‘स्रोतसाधनको अधिकतम प्रयोग हुन्छ । यो हुन सके गुणात्मक ढङ्गबाट विकास अघि बढ्छ ।’