बेलबारीः आदिवासी जनजाति महासङ्घ बेलबारीले ३ दिने फुड फेस्टिबलको आयोजना गर्ने भएको छ । बैशाख २५ गतेदेखि २७ गतेसम्म बेलबारीको तमू बुद्धिष्ट गुम्बामा फेस्टिबल हुन लागेको हो ।

मौलिक संस्कार संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ फुड फेस्टिबल गर्न लागिएको नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद बेलबारीले पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ । ‘शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए जाति हराउँछ’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गर्न लागिएको महासङ्घ बेलबारीका सचिव मनकुमार गुरुङले बताए ।

प्रदर्शनीमा बेलबारी नगरपालिकामा रहेका १६ वटा जातीय संस्थाको परिकारसहित उनीहरूका पहिरनसमेत राखिने सचिव गुरुङले बताए । ‘एउटा जातिका लागि २ वटा स्टल राखिन्छन्’, सचिव गुरुङले भने, ‘एउटामा खानाका परिकार मात्रै हुन्छन् । एउटामा जन्मदेखि मृत्युसम्मको संस्कारमा प्रयोग गरिने सामग्री राखिन्छन् ।’

जम्मा १६ जातिका लागि ३२ वटा स्टल रहने उनले बताए । ४ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको सो कार्यक्रमका लागि बेलबारी नगरपालिकाले ४ लाख सहयोग गर्ने आदिवासी जनजाति महासङ्घ बेलबारीका अध्यक्ष तिलककुमार राईले बताए । फेस्टिबलमा राष्ट्रिय कलाकारको साङ्गीतिक प्रस्तुति पनि रहने अध्यक्ष राईले बताए ।