बेलबारीः मोरङको उर्लाबारी–१ मा क्रसर हटाऔं अभियानमा धर्ना बस्दै आएको स्थानमा टाँगिएको ब्यानर अपरिचित व्यक्तिहरूले बिहीबार च्यातिदिएको आन्दोलनरत पक्षले आरोप लगाएको छ ।
२ वटा मोटरसाइकलमा आएका ४ जना व्यक्तिले धर्नामा बसेकाहरूलाई धम्क्याउँदै ब्यानर च्यातिदिएको सङ्घर्ष समितिका संयोजक सम्बरबहादुर राईले बताए । मोटरसाइकलमा आएका व्यक्तिहरूले तिमीहरू कति दिन धर्ना बस्छौ, अब तिमीहरूसँग प्रतिवाद गरेर क्रसर चलाउँछौँ भन्दै हिँडेको संयोजक राईले जानकारी दिए । उनले मानिस नचिने पनि मोटरसाइकलको पहिचान भएको बताएका छन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीलाई मौखिक जानकारी दिएको समेत उनले बताए । स्थानीयवासीहरू १ महिना ५ दिन अगाडिदेखि कि क्रसर हटाऊ, कि बस्ती उठाऊ भन्दै झाँरसादी चोकमा धर्ना बस्दै आएका छन् ।
यता, इलाका प्रहरी कार्यालय उर्लाबारीले भने दुई पक्षबीच ब्यानर खोसाखोस हुँदा च्यातिएको र अहिले आन्दोलरत पक्षले पुन ब्यानर राखेको जनाएको छ ।