तस्बिरः लक्ष्मण थापा
धरानः धरानमा नियमित हुँदै आएको ‘सडक उत्सव’ यस वर्ष बैशाख २८, २९ र ३० गते हुने भएको छ ।

होटल एसोसिएसन अफ धरानको आयोजनामा हुने सडक उत्सवको यो १५ आँै संस्करण हो । शुक्रबार पत्रकार सम्मेलन गरी एसोसिएसनले धरानको पर्यटन र व्यापारका प्रवद्र्धन गर्ने उद्देश्यले तीन दिने सडक उत्सव गर्न लागेको बताएको छ ।

‘घुम्न जाऔँ धरान’ भन्ने नाराका साथमा धरान–१२ स्थित चतरालाइनमा सडक उत्सव हुने आयोजक समितिका संयोजक सुवर्ण श्रेष्ठले बताए । उनका अनुसार उत्सवमा यस पटक ८० भन्दा बढी स्टल हुनेछन् । उत्सव २०५५ सालदेखि शुरु भएको हुनाले यो उत्सब नियमित कार्यक्रमजस्तै भएको उनको भनाइ थियो ।

यस पटक स्टलको मूल्यलाई केही साधारण बनाइएकाले उत्सवमा खरिद गरिने वस्तु वा अन्य सेवा विगतको भन्दा सस्तो पर्ने उनको भनाइ थियो । सडक उत्सवलाई धरान उपमहानगरपालिका र नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्ने भएका छन् ।