बेलबारी : बैकिङ सेवा बजारकेन्द्रित भएको भन्दै एनएमबी बैंक बेलबारी शाखाले गाउँगाउँमा वित्तीय साक्षरता अभियान थालेको छ । महिला उद्यमीलाई लक्षित गरेर वित्तीय साक्षरता अभियान सञ्चालन गरिएको बताइएको छ ।
बेलबारीका ५ वटा वडामा सो अभियान सकेको शाखाका प्रबन्धक तोर्णबहादुर कार्कीले बताए । बैंकको पँहुच नपुगेका व्यक्तिका लागि पहुँच पु¥याउने उद्देश्यका साथ गाउँगाउँमा विभिन्न बैकिङ गतिविधिसम्बन्धी जानकारी गराउन थालिएको उनले बताए । कुनै पनि बैंकमा खाता नखोलेका व्यक्तिका लागि एनएमबीमा खाता खोल्दा १ सय रुपैयाँ बैंकले नै खातामा जम्मा गरिदिने समेत उनले बताए ।
‘निःशुल्क खाता खोलिदिन्छौँ’, उनले भने, ‘हामी १० लाख बराबरको जीवनबीमा पनि गरिदिन्छौँ ।’ १० लाख रुपैयाँ बराबरको ३ प्रकारको बीमा समेत खता खोल्दा निःशुल्क गरिदिने उनले बताए । जटिल १८ प्रकृतिका रोग, दुर्घटना तथा अङ्गभङ्ग बीमा निःशुल्क गरिदिने उनले बताए ।
‘बजारमा धेरै बैंक छन् तर गाउँमा बैंकिङ कारोबारसम्बन्धी ज्ञान अझै धेरै जनतामा पुगेको छैन’, उनले भने, ‘विभिन्न माध्यमबाट ठगिने क्रमसमेत रोकिएको छैन ।’ महिला उद्यमी तथा व्यावसायिक कृषि पशुपालन गर्नेहरूलाई सहुलियतमा ऋण दिने समेत उनले बताए ।
विदेशबाट फर्केका नेपाली युवालाई बैंकले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । बैंकले आगामी १ वर्षमा १ हजार जना योग्य युवालाई कर्जा उपलब्ध गराउने उद्देश्यले युवा परिषद् र रिटर्नी माइग्रेन्टसँग त्रिपक्षीय सम्झौता गरेको जनाएको छ । नेपाल सरकारको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुरूप प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।




















