बेलबारीः मोरङको बेलबारीमा आदिवासी जनजातिको मौलिक संस्कार र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ बुधबारदेखि शुरु भएको फुड फेस्टिबलमा लेकमा पाइने भेडादेखि मुसाको मासुका परिकारसमेत राखिएको छ ।

गुरुङ समुदायले जिउँदो भेडालाई फुड फेस्टिबलमा राखेको छ भने मुडयारी समुदायले मुसाको मासुलाई फेस्टिबलमा राखेको छ । नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद बेलबारीको आयोजनामा शुरु भएको फुड फेस्टिबलमा थारु जातिका परिकार घुङ्गी, झुना, गँगटा, बयिया, तिलको लडडु, भुजाको लड्डु, चिचिरी भात राखिएको छ । त्यस्तै, मुडियारी जातिका परिकार मुसाको मासु, तरुवा, गँगटा, माछा, खोर्सानी फ्राइ र कोहरी राखिएको छ ।

गुरुङ जातिको मकै, भटमास, गुन्द्रुकको अचार, कोदोको रक्सी, जाँड, खाद्य परिकारका रूपमा राखिएको छ भने घुम ढोलक, डोको नाम्लो, चर्खा, घोलिङलगायतका पहिचानसँग जोडिएका सामग्री राखिएको छ ।

माझी समुदायका मोर्चा, डुङ्गा, जाल, फुर्लुङ, पेरुङ्गोलगायतका सामग्री राखिएका छन् । राजवंशी जातिले बगिया, मक्का सुुँगुरको मासु, खसीको मासु लगायतका परिकार बनाएर राखेका छन् । बेलबारीमा रहेका १६ वटा जातीय संस्थाका ३२ वटा स्टल रहेका छन् । स्टलमा हरेक जातिका खानाका परिकार तथा जन्मदेखि मृत्युसम्मको संस्कारमा प्रयोग गरिने सामग्री राखिने नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद बेलबारीका सचिव मनकुमार गुरुङले बताए ।

शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए जाति हराउँछ भन्ने मूल नाराका साथ फुड फेस्टिबल गरिएको हो ।

३ दिनसम्म सञ्चालन हुने फुड फेस्टिबलको एक कार्यक्रमका बीच बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै मेयर सुवेदीले आउँदो शैक्षिक सत्रदेखि आदिवासी जनजातिको भाषमा नगरमै पढाइ हुने गरी काम गर्ने बताए ।

लोप हुन लागेको भाषा तथा लिपि संरक्षण गर्नका लागि नगरले पाठ्यक्रम नै बनाएर पठनपाठन गर्ने समेत उनले बताए ।

adibasi mahotsab  (1)