तस्बिरः लक्ष्मण थापा
धरानः धरानमा ३ दिने सडक उत्सव शनिबार शुरु भएको छ । सडक उत्सवको एक औपचारिक कार्यक्रमका बीच धरान उपमहानगरपालिकाकी कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारीले गरिन् ।

धरानको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेर आयोजना गरिएको उत्सवमा ८३ वटा स्टल राखिएको छ । स्टलहरूमा स्थानीय जातीय खानाका परिकारदेखि स्थानीय उत्पादन पनि बिक्री तथा प्रदर्शनीका लागि राखिएको छ । होटल एसोसिएसन अफ धरानको आयोजनामा भइरहेको उत्सवमा ५० लाख भन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ ।

कार्यक्रममा बोल्दै नेकपा धरानका नेता तथा साबिक नेकपा एमाले धरानका कार्यवाहक अध्यक्ष नारायणप्रसाद सुवेदीले पर्यटनको विकास र प्रचारका लागि महोत्सव र उत्सव आवश्यक हुने बताए । उत्सव र महोत्सवले स्थानीय उत्पादन र ठाउँको प्रचार हुने भन्दै उनले उत्सव र महोत्सवलाई व्यवस्थित गदै जानुपर्ने बताए ।

कार्यक्रममा बोल्दै होटल एसोसिएसन अफ धरानका पूर्व अध्यक्ष महेन्द्र प्रधानले धरानको पर्यटन विकासमा होटल एसोसिएसनले खेलेको भूमिकालाई स्थानीय सरकारले संस्थागत गर्नुपर्ने बताए । कार्यक्रममा पत्रकार रत्न आचार्य र होटल एसोसिएसन अफ धरानका पूर्व अध्यक्ष प्रमेश श्रेष्ठलाई सम्मान गरिएको थियो ।