इटहरीः क्याफे हो । तर पनि अन्य क्याफेजस्तो काठ र सिसाका टेबल कुर्सी छैनन् । बाँसका टेबल र कुर्सीहरू छन । टुल छैनन् । मुडा छन् । चिया र कफी खाने बजारिया चल्तीका ग्लास छैनन् । माटोका कप (मट्का) छन् ।
सबैभन्दा रोचक कुरा अन्य क्याफेमा जस्तो यो क्याफेमा वाइफाइ सुविधा छैन । इटहरी सङ्गीत चोकको रातो घरभित्र रहेको फलैँचा क्याफेमा जानाजान वाइफाइ नराखिएको सञ्चालक सङ्गीता समसेर गुरुङ बताउँछिन् । उनी भन्छिन्, ‘बुक क्याफे भएकाले पढ्नमा वाइफाइले असर नगरोस् भनेर वाइफाइ नराख्ने निर्णय गरिएको हो ।’
यो क्याफे गत चैत १० गतेबाट दर्ता भएर सञ्चालन भएको गुरुङ बताउँछिन् । श्रीमान् दिव्यराज गुरुङ र युवा उद्यमी विनय लिम्बूले आतिथ्य सत्कारमा र श्रीमार पण्डितले मड्का बनाउन साथ दिने गुरुङ बताउँछिन् । भन्छिन्, ‘यो क्याफे इटहरीमा पहिलो पटक नयाँ शैलीमा साझेदारीमा बुक क्याफे खोलौँ भनेर शुरु गरिएको हो ।’
मड्का चियाको २५, कालो चियाको १५ र कालो कफीको ३५ रुपैयाँ दाम राखिएको बताएकी गुरुङ आफ्नो क्याफेमा पुस्तकदेखि खाद्य परिकार पाउने बताउँछिन् । ७० रुपैयाँको लेमन मिन्ट जुस, १ सय रुपैयाँको भर्जिन मजिटो र ५० रुपैयाँको ग्रीन टी आफ्नो क्याफेमा स्पेशल रूपमा प्रदान गरिने गुरुङले बताइन् । उनले भनिन्, ‘हाम्रो बुक क्याफे भएकाले पुस्तकहरूको सङ्कलन पनि राम्रो छ ।’

इटहरीका कवि मनु मञ्जिलको कविता सङ्ग्रह ल्याम्प पोस्टबाट खसेको जूनदेखि बीपी कोइरालाका सबै कृतिहरू क्याफेमा पाइने गुरुङले बताइन् । ‘इटहरीमा दिनभर किताब पढ्दै बस्ने वातावरण बनाउन हामीले यो काम शुरु गरेका हौँ’, गुरुङ भन्छिन्, ‘अब भविष्यमा रात्रीकालीन समयमा विभिन्न विश्वस्तरीय खेलको लाइभ गर्नेदेखि मासिक साहित्य कार्यक्रम गर्ने पनि योजना रहेको छ ।’