इटहरीः विभिन्न व्यक्तिलाई जग्गा दिन्छु भन्दै पैसा लिएर ठग्ने र अर्काको जग्गा आफ्नो भन्दै बैनाको रकम लिने सञ्जु बस्नेतबाट पीडित भएकाहरू खुल्न थालेका छन् । ठगीकै क्रममा चेक बाउन्समा परेकी बस्नेतका विरुद्धमा भएको जिल्ला अदालतको फैसला उच्च अदालतले सदर गरेको समाचार आएपछि अन्य पीडितहरू पनि खुल्न थालेका छन् ।
बिहीबार १ जना पीडितले इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी हालेका छन । अन्य पीडितहरूले पनि जाहेरी हाल्न प्रमाण जुटाउँदै गरेको एक पीडितले बताए । इटहरी–५ जनता क्याम्पस नजिक बस्ने १ जना पीडितले आफ्नो ६ लाख रुपैयाँ दिएको बताउँदै आपूmजस्तै अन्य पीडितहरूले पनि न्याय खोज्ने बताए । नाम सार्वजनिक गर्न नचाहेका उनले भने, ‘मजस्ता पीडितहरू धेरै छन् । अब क्रमशः खुल्नेछन् । कतिपयले भने पैसा बस्नेतले दिन्छिन् कि भनेर पनि सार्वजनिक भएका छैनन् ।’
सुनसरी जिल्ला अदालतले २०७५ असार ६ गते १८ लाख १६ हजार रुपैयाँको बिगो र सोहीबमोजिमको जरिवाना तथा २७ दिन कैदको फैसला सुनाएको थियो । बस्नेतले कैद भुक्तान समेत गरेकी थिइन् ।
जिल्ला अदालत सुनसरीले गरेकै फैसला उच्च अदालत विराटनगरले पनि सदर गरेको छ । २०७६ बैशाख १६ गते उच्च अदालतले जिल्ला अदालतको फैसला सदर गरेको अदालतका रजिष्टार ठगेन्द्र कट्टेलले बताए । उनका अनुसार उच्च अदालतका न्यायाधीशद्वय शिवराज अधिकारी र शेखरप्रसाद पौडेलको संयुक्त इजलासले जिल्ला अदालतको फैसला ठहर गरेको थियो ।
२०७५ जेठ ४ गते इलाका प्रहरी कार्यालयमा ४ जना पीडितहरूले जाहेरी दिएपछि बस्नेत पक्राउ परेकी थिइन् । इटहरी–५ का तिलकप्रसाद निरौला, सुन्दरहरंैचाका अपिल लामा, इटहरीका प्रदीप गौतम, दिनेश बराइली र भद्रावती लिम्बूले जाहेरी दिएपछि बस्नेत पक्राउ परेकी थिइन् ।
निरौलाको ११ लाख ५० हजार, लामाको १ लाख, गौतमको २ लाख ८० हजार, बराइलीको ८० हजार र लिम्बूको २ लाख ६० हजार रुपैयाँ ठगिएको थियो । त्यसपछि ठगिएको रकम फिर्ता गराइपाऊँ भनी उनीहरूले उजुरी दिएका थिए ।