इटहरीः उद्योग वाणिज्य सङ्घ –उवा सङ्घ) इटहरीको चुनाव असार १४ गते तोकिएसँगै धमाधम नयाँ व्यवसायहरू दर्ता भएका छन् । यही जेठ १० गतेसम्म नयाँ व्यवसाय दर्ताको समयसीमा भएकाले नयाँ व्यवसायहरू दर्ताको क्रम बढेको छ । बिहीबारसम्म मात्रै ४ हजार ५ सय हाराहारी व्यवसायीहरू सदस्य पुगेको वरिष्ठ उपाध्यक्ष शैलेश बिष्टले जानकारी दिए ।
कार्यवाहक अध्यक्ष समेत भएका वर्तमान वरिष्ठ उपाध्यक्ष शैलेश विष्ट र कार्यसमिति सदस्य भीम पौडेल अध्यक्ष पदको लागि चुनावी प्रतिष्पर्धामा छन् । दुवै उम्मेद्वारको प्रयोजनामा नयाँ व्यवसाय दर्ताको क्रम बढेको उवा सङ्घ इटहरीका कर्मचारीहरूले बताएका छन् ।
यसरी दर्ता हुनेमा नक्कली व्यवसायीहरू समेत बढेका छन । कुनै पेशा व्यवसाय नगरेका तर कसैलाई भोट हाल्नैका लागि कागजी व्यवसायी बनेका धेरै भएको जानकारहरूले बताएका छन् ।
उनीहरूका अनुसार प्यान नम्बर र इटहरी उपमहानगरपालिकामा व्यवसाय दर्ता गरेको प्रमाणपत्र लगेपछि उवा सङ्घमा दर्ता हुन मिल्छ । यसरी दर्ता भएका व्यापारीहरूले भोट हाल्न पाउँछन् । भोट हाल्ने नाममा नक्कली व्यवसायी बढेको पाइएको छ ।
अरुको पैसामा अहिले प्यान नम्बर लिने र व्यवसाय दर्ता गर्नेहरूले पछि व्यवसाय बन्द गर्दा वा सञ्ंचालन नगर्दा भने करको भारी बोक्नुपर्ने देखिएको छ ।
नक्कली व्यवसायी बन्दा बढ्छ हजारौँको करको भारी, गुम्छ बेरोजगार भत्ता !
कागजी व्यवसाय मात्रै दर्ता गर्दा २६ हजार रुपैयाँसम्म खर्च हुने यसका जानकारहरूले बताएका छन् । असार १४ गते चुनावमा भोट हालेर साउनमा व्यवसाय बन्द गर्दा मात्रै २६ हजार खर्च हुने देखिएको छ । १ हजार २ सय ७५ रुपैयाँ तिरेमा नगरपालिकामा व्यवसाय दर्ता गर्न सकिन्छ भने उवा सङ्घमा १ हजार १ सय ५६ रुपैयाँ लाग्छ । प्यान नम्बर भने निःशुल्क पाइन्छ ।
तर, कागजी व्यवसाय मात्रै दर्ता गरेर बन्द गर्दा भने २६ हजारसम्म खर्च हुने देखिएको छ । उदाहरणका लागि सामान्य व्यवसाय असार अगाडि दर्ता गरेर साउनमै बन्द गर्दा १० हजार खर्च हुने करदाता सेवा कार्यालय इटहरीका प्रमुख सुमन श्रेष्ठले बताए ।
व्यवसाय बन्द गर्दा आवश्यक न्यूनतम कर तिर्न मात्रै १० हजार रुपैयाँ लाग्ने हो । अडिट गरेको न्यूनतम ५ हजारदेखि १५ हजार रुपैयाँसम्म लाग्ने बताउँछन् जनता क्याम्पसका प्राध्यापकसमेत रहेको इटहरीका चर्चित अडिटर शान्तिराम खनाल । खनालका अनुसार सामान्य व्यवसायको ५ हजार र ५० लाखभन्दा माथिको पूँजी देखाएको छ भने १५ हजार रुपैयाँ अडिट शुल्क लाग्छ ।
कर कार्यालयमा अडिटसहित बन्द गर्दा २५ हजार सम्म लाग्ने देखिन्छ । स्थानीय सरकारलाई पनि व्यवसाय बन्दको कर तिर्नुपर्ने इटहरी उपमहानगरपालिकाको कर शाखाले बताएको छ । कर शाखाका कर्मचारीहरूका अनुसार सामान्य व्यवसाय बन्द गरेको कर १ हजार रुपैयाँ लाग्छ । यसरी कागजी व्यवसायी बनेर भोट हालेर व्यवसाय बन्द गर्दा २६ हजार रुपैयाँसम्म खर्च हुने देखिएको छ ।
यत्ति मात्रै होइन अरुले दर्ता गरिदिएको प्यान र व्यवसायको परिचयपत्र मात्रै बोकेर भोट हालेपछि वास्ता नगर्नेहरूलाई झनै करको भारी पर्ने अडिटर खनाल बताउँछन् । ‘आफ्नो नाममा कति कर आएको छ त्यो समेत धेरैलाई थाहा हुँदैन’, यसरी कर नतिर्नेको सूची कार्यालयबाट पत्रिकामा आउने उदाहरण दिँदै खनाल भन्छन्, ‘कर त राज्यले जसरी पनि लिन्छ । थाहा पाइनँ भन्न पाइँदैन ।’
प्यान नम्बर लिएर कागजी व्यवसाय दर्ता गरेकाहरूलाई सरकारले ल्याएको बेरोजगारी भत्ता पाउन पनि असहज हुने प्रदेश सांसद लीलम बस्नेत बताउँछन् । बस्नेतका अनुसार रोजगारी नभएको भन्दै फारम भर्ने तर व्यवसाय दर्ता गरेको पाइएपछि बेरोजगारहरूको भत्ता गुम्छ । ‘कागजी व्यवसाय दर्ताको असर सामान्य छैन’, प्रदेश सांसद बस्नेत भन्छन्, ‘राज्यलाई कर तिर्नुपर्ने छ छँदैछ, राज्यले दिने बेरोजगार भत्ताबापतको सुविधा पनि पाउन सकिँदैन ।’