सङ्खुवासभाः अरुण नदीमा पुल नहुँदा उपभोग्य सामान ढुवानीमा समस्या भएको छ । यसले गर्दा महङ्गो भाडा तिरेर ढुवानी गर्नुपरेको व्यवसायीले बताएका छन् ।
ढुवानी गरिएका सामान नदी वारपार गर्न भरियालाई महङ्गो मूल्य तिर्नुपरेको भोजपुर बुम्लिङटारका होटल व्यवसायी तारा थापाले बताइन् । ‘महङ्गो त छँदैछ,’ उनले भनिन्, ‘मनपरी भाडाले ढाड सेकेको छ ।’
पक्की पुल हुने हो भने घरमै सामान आइपुग्ने अवस्था छ । अहिले नदी तार्न मात्र खाँदबारीदेखि हेलुवाबेंसीसम्मको दोहोरो भाडा तिर्नुपर्ने बाध्यता छ । अरुण नदीमा पक्की पुल नहुँदा भोजपुर र सङ्खुवासभाका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् ।
सङ्खुवासभाको हेलुवाबेंसी र भोजपुरको बुम्लिङटारको सिमानाबाट बग्ने अरुणमा पक्की पुल नहुँदा समस्या भएको हो । झोलुङ्गे पुलको सहायतामा दुई जिल्लाका स्थानीय आउजाउ गर्छन् । सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट ढुवानी गरिएका सामान तार्न र भोजपुरबाट ल्याइएका दैनिक उपभोग्य सामग्री भरिया र खच्चडको सहायता लिनुको विकल्प छैन ।
झोलुङ्गे पुलको वारीपारी सडकसमेत जोडिएको छ । खाँदबारीबाट हेलुवाबेंसीसम्म नियमित गाडी सञ्चालनमा छ । भोजपुरमा पनि गाडी सञ्चालनमा छ । तर, पक्की पुल नहुँदा खाँदबारीबाट भोजपुर हिँडेका यात्रुहरू पुल तरेर बुम्लिङटारबाट अर्को गाडीको यात्रा गर्नुपर्ने बाध्यता छ ।
सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाका स्थानीय पनि यही पुलबाट हिँड्नुपर्छ । अरुण पारिको गाउँपालिका भनेर चिनिने सिलिचोङ गाउँपालिकाको साबिक बाला, सिसुवा, ताम्कु, माङ्तेवा र याफु गाविस सडक सञ्जालले जोडिए पनि पक्की पुल नहुँदा समस्या उस्तै छ ।
अध्ययनको क्रममा खाँदबारी बस्दै आएकी सिसुवाकी कल्पना राई घर जाँदा हेलुवाबेंसीमा अलपत्र पर्ने गरेको बताउँछिन् । ‘खाँदबारीबाट ४ सय भाडा तिरेर हेलुवाबेंसी त पुगिन्छ तर बुम्लिङटारमा गाडी नपाउँदा हेलुवाबेंसीमा नै बस्नुपर्छ’, उनले भनिन्, ‘पुल बनेको भए घरैसम्म पुगिने थियो ।’
माङ्तेवाका जयकुमार राई सदरमुकाम खाँदबारीबाट गाउँसम्म जाने सडक जोड्न ३ वर्षअघि कम्मर कसेर लागिपरेको सम्झन्छन् । स्थानीयको श्रमदान र स्थानीय निकायको सहयोगमा ७ किलोमिटर सडक खनिएको उनले बताए ।
तर, सडक खनेको ३ वर्ष भइसक्दा पनि मोटर चढ्ने रहर पूरा भएको छैन । ‘घरछेउमै सडक खनेर त लगियो तर, पुल नभएपछि यातायातका साधन ल्याउन सकिरहेका छैनाँै’, उनले भने, ‘सडकमा लगानी गरेको श्रम र पसिना त्यसै खेर गयो ।’ सिलिचोङ गाउँपालिका र भोजपुरको उत्तरी क्षेत्र जाने सडक खनिए पनि अरुण नदीमा झोलुङ्गे पुल नभएकाले प्रयोगविहीन भएको उनले बताए ।
सिसुवाखोला, बाला, ताम्कु र माङ्तेवा तथा भोजपुरको कुलुङ, चौकीडाँडा, खाटम्मा हुँदै सदरमुकाम जोड्ने सडक खनिएको थियो । ‘पक्की पुल निर्माण नभएसम्म सडकमा गाडी कुदाउन नपाउने भयाँै,’ उनले भने, ‘पक्की पुल निर्माणका लागि सदरमुकाम धाएको धायै छाँै ।’
तीन वर्षअघि नै हेलुवाबेंसीदेखि माङ्तेवा हुँदै ताम्कुसम्म जाने सडक खन्न थालिएको र अघिल्लो वर्ष नै माङ्तेवासम्म सडक पुगिसके पनि त्यसको कुनै प्रयोग हुन नसकेको उनले बताए । ‘सडक आफ्नै गाउँसम्म आइपुगे पनि सवारी साधन ल्याउन अरुण नदी बाधक बन्यो’, उनले भने, ‘पुल बनाउन सके यहाँ उत्पादित कृषि उपजले बजार पाउने थियो ।’
खाँदबारी बजारसम्म यहाँका सामग्री लगेर बेच्ने आफ्नो सपना अधुरै रहेको माङ्तेवा जौलेटोलकी किसान पार्वती कुलुङले बताउँछिन् । ‘स्थानीय निकाय र सडक विभागले छिट्टै पुल निर्माण गरिदिनु प¥यो’, उनले भनिन् ।
पुल बनाउन स्थानीय राजनीतिक दलले महत्वपूर्ण भूमिका खेल्नुपर्ने हेलुवाबेंसी–ताम्कु सडक निर्माण समितिका पूर्वअध्यक्ष बालकिशोर कुलुङले बताए । स्थानीयको मागलाई ध्यानमा राखेर अरुणमा पक्की पुल निर्माणको योजना ल्याएर टेन्डरसमेत गरिसकिएको प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले बताए । अब चाँडै नै पुल बन्नेमा ढुक्क हुन उनले आग्रह गरे ।