बेलबारीः बेलबारी नगरपालिकाले किसानहरूलार्ई धानको बीउ वितरण गर्न थालेको छ । साना किसान सहकारी संस्थाको सहकार्यमा नगरपालिकाले धानको बीउ बाँड्न थालेको हो ।
रञ्जित तथा सुख्खा ३ जातको बिउ वितरण गर्न थालिएको जनाइएको छ । किसानले २० किलोसम्म धानको बीउ पाउने साना किसान सहकारी संस्थाले जनाएको छ । नगरपालिकाको २ लाख ५० हजार र साना किसान सहकारीको १ लाख ५० हजार रुपैयाँ लगानीमा ६ हजार किलो धानको बीउ खरीद गरी किसानलाई वितरण गरिएको हो ।
खेती गर्ने समयमा धानको बीउको अभावमा खेत बाँझै नहोऊन् भनेर बीउ वितरण गरिएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । बेलबारीमा बीउबिजनको अभावमा खेत बाँझो हुन नदिने समेत उनले बताए ।
गत वर्ष नगरपालिकाकै सहयोगमा फलफूलका बिरुवा तथा धानको बीउ वितरण गरिएको साना किसान सहकारी संस्था बेलबारीका व्यवस्थापक बाबुराम खड्काले बताए । बीउ पाएपछि किसान खुशी भएका छन् ।
‘घरमा राखेको बीउ धेरै उम्रँदैनथियो’, किसान गिरिनाथ दाहालले भने, ‘गत वर्ष पनि नगरपालिकाले दिएको बीउ राम्ररी उम्रियो र उत्पादन पनि राम्रो भयो ।’