झापाः भन्सार विभागले २५ वैशाखमा मार्बल, ग्रेनाइट र टायल्ससहित विभिन्न ११ किसिमका आयातीत वस्तुमा पैठारीकै अवस्थामा एमआरपी प्रकाशित गर्न अनिवार्य गरेको छ । यससम्बन्धी काम कार्यान्यवयनका लागि मातहतका निकायमा पत्राचार गरेपछि केही दिनदेखि मार्बल, ग्रेनाइट र टायल्सको आयात ठप्प छ ।

विभागको निर्देशनपछि तत्कालका लागि भन्सार प्रमुखसँग छलफल गरी आयात खोलिए पनि समस्या भने समाधान भएको छैन । यसै विषयमा नेपाल मार्बल व्यापार सङ्घ झापा शाखाले मेची भन्सार कार्यालयलाई ध्यानाकर्षणपत्र बुझाउँदै मार्बल, ग्रेनाइट र टायल्सको अधिकतम खुद्रा मूल्य (एमआरपी) प्रकाशित गर्न नसक्ने अवगत गराएको छ ।
सङ्घका अध्यक्ष कुशल खतिवडाको नेतृत्वमा गएको टोलीले मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्याललाई ध्यानाकर्षणपत्र बुझाएको हो । मार्बल, ग्रेनाइट र टायल्सको आकार, गुणस्तर तथा फिनिसिङ अनुसार यसको मूल्यमा पनि विविधता हुने भएकाले एमआरपी प्रकाशित गर्न नसक्ने अध्यक्ष खतिवडाले बताए ।

मार्बल पृथ्वीको गर्भबाट निकालिने र चौरमा राखेर व्यापार गरिने खनिज पदार्थ भएकाले यसको एमआरपी भारतसहित विश्वका कुनै देशमा लागू नभएको सङ्घको दाबी छ । २०६८ सालमा पनि उक्त वस्तुमा एमआरपी लागू गर्नुपर्ने निर्णय भएकोमा व्यवसायीसँगको छलफलपछि त्यो निर्णय अव्यवहारिक रहेको महसुस गरी लागू नगर्ने सहमति भएको बताइन्छ ।

मेची भन्सार प्रमुख अर्यालले व्यवसायीका माग र समस्या भन्सार विभागसमक्ष पेश गरिदिने बताएका थिए । एमआरपी प्रकाशित नगरेकै कारण काठमाडौंमा दुई व्यवसायी फर्ममाथि ५० ÷ ५० हजार जरिवाना गरेको घटनाको पनि झापाका व्यवसायीले विरोध गरेका छन् । त्यसविरुद्ध न्याय माग्दै अदालतमा मुद्दा दायर गर्ने व्यवसायीले बताए ।

नेपालमा आयात हुने मार्बल, ग्रेनाइट र टायल्स अधिकांश भारतबाट र केही तेस्रो मुलुकबाट आयात हुने गरेको छ । सो वस्तु लोड हुँदादेखि गाडी भाडा, टुटफुट केही नहेरी प्रतिकेजी ९ रुपैयाँ दरको भन्सार शुल्क, कारोबार भए १३ प्रतिशत भ्याट, अनलोड खर्च, एजेन्ट खर्च, उपभोक्ताको घरसम्म सेवा दिनुपर्ने र बढी भएको सामान पुनः उठाएर पनि ल्याउनुपर्नेसम्मको झन्झट र अप्रत्यक्ष खर्चको मारमा व्यवसायी रहेको व्यवसायीले गुनासो गरेका छन् ।

व्यवसायीले झन्झट बेहोरे पनि त्यसको आर्थिक भार भने अन्तिममा उपभोक्ताले नै बेहोर्नुपर्ने बाध्यताका कारण आफूहरू उपभोक्ता हितका लागि प्रतिबद्ध रहेकैले यो आवाज उठाएको उनीहरुरू बताउँछन् ।

हरेक गाडी मार्बल, ग्रेनाइट र टायल्सको एमआरपी वस्तु टुटफुटको आधारमा अनलोडपछि मात्र निर्धारण गर्न सकिने र यो हरेक पटक फरक–फरक हुने व्यवसायी बताउँछन् । हरेक पटकको आयातमा २० देखि २५ प्रतिशत मार्बल, ग्रेनाइट र टायल्स टुटफुट हुने गरेको व्यवसायीको भनाइ छ ।