इटहरीः इटहरी उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्वका लागि समय नजिकिएसँगै विवादका बीच नयाँ फर्म दर्ता प्रक्रिया मङ्गलबारदेखि रोकिएको छ ।
चुनावी मैदानमा उत्रिएका अध्यक्षका प्रत्यासीले चुनावकेन्द्रित फर्म दर्ता गरेको भन्दै यसले निष्पक्षता कायम गर्न नसक्ने ठहरसहित मङ्गलबारदेखि फर्म दर्ता नगर्ने सहमति भएको निवर्तनमान अध्यक्ष लीलम बस्नेतले जानकारी दिए ।
उनका अनुसार दुवै पक्षको सहमतिका आधारमा यस्तो निर्णय गरिएको हो । तर, कार्यसमिति सदस्यसमेत रहेका भीम पौडेल पक्षका उम्मेद्वार दिवस पोख्रेलले भने मङ्गलबार बोलाइएको बैठकमा एकलौटी निर्णय गरिएको भन्दै असहमती दर्ज गरेको जानकारी दिए ।
उनले बैठकमा नक्कली व्यापारी छिरेको भन्ने विषय उठे पनि छानबिन हुनुपर्ने आफ्नो पक्षको माग रहेको बताए । तर अध्यक्ष स्वयम्ले हस्ताक्षर गरेर दर्ता गरिएको फर्ममा पुुनः छानबिन गर्नुपर्छ भन्ने आवाज उठाउनु हास्यास्पद भनाइ रहेको पोख्रेलको तर्क छ ।
उनले विधान अनुसार निर्वाचन हुने मितिले ३५ दिन अघिसम्म फर्म दर्ता गर्न पाउने व्यवस्था छ । तर, कार्यसमिति नेतृत्वले एकलौटी रूपमा मनोमानी गरेको उनको गुनासो छ । उनकाअनुसार हिजो राति अवेर दुुइ पक्षसँग लिखित सहमती नै भएको छ । केहि व्यापारिक पक्षसँगको असहमतीका वावजुत यस्तो निर्णय लिइएको हो ।
केहि दिन अघि दुुइ पक्षसँगको सहमती भएअनुसार जेठ १० गते फर्म दर्ता गर्नेले चुनावमा भोट हाल्न पाउने अधिकार रहने बताइएको थियो । तर, तीन दिन बाँकि रहँदा वाणिज्य संघले लिएको यस्तो निर्णयले फर्म दर्ता गर्न बाँकि व्यवसायि के गर्ने भन्ने प्रश्न उठेको छ ।
पौडेल पक्षले बिष्ट पक्ष पराजित मानसिकताले पछि हटेको तर्क गरेको छ ।
‘आफैँले माइन्युट गरेको कुरामा किन पछि हट्नुभयो’, पोख्रेलले तर्क गरे, ‘यो सबै चुनावमा हार्छु भन्ने निश्चित भएपछि गरिएको फन्डा हो ।’
अघिल्लो चुनावमा करीब ४ हजार ५ सय मतदाता रहेका थिए । अहिले मङ्गलबारसम्मको आँकडाअनुसार करीब ६ हजार ५ सय व्यापारीले फर्म दर्ता गराएका छन् ।